|

झापा : आज माघे संक्रान्ति, हरेक वर्ष झापाको कनकाई नदी किनारमा माई मेला स्वतःस्फूर्त लाग्ने गरेको छ। धार्मिक आस्था र विश्वास राख्ने भक्तजनहरू कोरोनाको कुनै डर प्रवाह नराखी मेलामा जम्मा भएका छन्।

माई मेलाको व्यवस्थापन कनकाई र शिवसताक्षी नगरपालिकाले गर्दै आइरहेको छ। संक्रमणको तेस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि दुवै नगरपालिकाले यस वर्ष माई मेला नलगाउने निर्णय गरेका थिए।

तर, पनि धार्मिक आस्था राख्ने भक्तजनहरूको कनकाई नदी किनारमा शनिबार घुइँचो लाग्‍यो। मकर संक्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप तप, तीर्थ, व्रतलाई उत्तम मानिन्छ।

त्यसैले नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक आस्था र विश्वासअनुसार भक्तजनहरू पुगेका थिए। नदी किनार स्नान गर्ने पुगेका भक्तजन माधव बास्तोलाले भने, ‘सरकारको निर्णय भक्तजनहरूले कहाँ मान्छन् त, कोरोनाले धार्मिक आस्था र विश्वास छेकिन्छ र, त्यसैले स्वतःस्फूर्त रूपमा भक्तजनहरू यहाँ आएका हुन्।’

 मेला लागेको भए अरू भिडभाड हुन्थ्यो। मेला नलागेकोले पूजाआर्चना गर्ने भक्तजनहरू मात्र त्यहाँ पुगेको उनको भनाइ छ। माई मेला नलगाउने भनी सम्बन्धित पालिकाहरूलाई निर्णयसहित जानकारी गराइसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, ‘नदी किनारमा स्नान र पूजाआर्चना गर्ने भक्तजनहरूलाई रोक्न सकिएन।’

‘नदी किनारमा भक्तजनहरूको भिडभाड भएको जानकारी आएकै हो,’ उनले भने, ‘भक्तजनहरू कोरोनाबाट बच्न यस्तो बेला आफैँ सचेत हुनुपर्छ, सबै स्थानीय प्रशासनले रोक्न सक्दैन, प्रशासनले यस्तो नगर्नुहोस् भनेर निर्णयमार्फत जानकारी गराउने हो।’ पूजाआर्चना गर्न जाँदा खोप लगाएका व्यक्तिले पनि दूरी, मास्क, स्यानिटाइजर प्रयोग गरेर मात्र जान उनले सबैलाई आग्रहसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.