|

योगचित्तवृत्तिनिरोध।।

योग मनको समाप्ति हो भनेर पतञ्‍जली योगसूत्रमा वर्णन गरिएको छ। त्यसैले पनि बोध गर्नु जरुरी छ कि योग दिवस मनाउने रूपमा मात्र होइन कि मनको तरंग र उत्तेजनालाई जान्दै जीवनशैली नै योगमय बनाउनुपर्दछ।

शारीरिक योग अभ्यासले मात्र मनको तरंग र उत्तेजना समाप्त नहुन सक्दछन् त्यसैले दैनिक जीवन र कर्ममा मनको असर, प्रभाव, सकारात्मक प्रेरणा र भ्रम कुन दिशामा हामी धेरै सक्रिय हुन्छौँ त्यसप्रति जागृत हुनु योग हो।

भ्रमित र तरंगित मनलाई शरीरदेखि मन, मनदेखि हृदय र हृदयदेखि आत्मा अर्थात् आन्तरिक चेतनाको स्तरसम्म जोडिने प्रक्रिया या जीवनशैली योगको परिणाम हो। अवश्यमेव शरीरको तलबाट योगको सुरुवाती जरुरी छ तर यसमा मात्रै सिमित रहेर आन्तरिक शान्ति र आनन्द प्राप्त हुन् सकेको छैन भने योगको अभ्यास सही तरिकाले भएको छैन भन्ने बुझ्नुपर्दछ। 

योग मानिसको जीवन जिउने कला मध्यको एउटा महत्वपूर्ण माध्यम हो तथापि हातखुट्टा तन्काउनु, स्वाप्रस्वासका प्रक्रिया मार्फत शारीरिक अभ्यास गर्नु मात्र योग होइन। योग हाम्रो जीवन पूर्णतासाथ जिउन आवश्यक पर्ने जीवन पद्दति र पूर्ण जीवनशैली अनि आनन्दित जीवन जिउने कला हो।

आजकल योग शब्द र यसको अभ्याससँग अधिकांश व्यक्तिहरू जोडिएका छन् जुन सुखद परिणाम हो। तर, यसको निरन्तरता र परिणामले जीवन रूपान्तरणमा कसरी मद्धत गरेको छ त्यो बोध गर्नु जरुरी छ। मनले कि विगतका घटना, कि त भविष्यको चिन्तामा लगेर अल्झाइदिन्छ।

हामी न त विगतमा बाँच्न सक्छौं न त भविष्यमा, अहिले जहाँ बाँचिरहेका छौं त्यो वर्तमान क्षण हो। त्यसैले मनको समाप्ति भनेको वर्तमानमा जागृत हुनु हो। वर्तमान परिस्थिति, मनस्थिति र यथास्थितिप्रति साक्षी बन्दै अपेक्षारहित भएर सत्य र अहोभावमा जिउनु योगको मर्म हो।

योगभूमि नेपाल

हामीलाई गर्व लाग्नु पर्दछ नेपाल योगको उद्गम भूमि हो। नेपाल ऋषिभूमि, देवभूमि, शिवभूमि र नेपाल नै योगभूमि हो। हाम्रा ऋषिमुनिहरूका योग साधनालाई अनुसरण गरेर विश्वभरी योग दिवस मनाइने गरिन्छ भने माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउने गरिएको छ।तर, अधिकांश हामी नेपालीलाई योग दिवस त परै जाओस् योगको महत्व नै थाहा छैन र योगलाई कसरी जीवनमा उतार्ने त्यो कलासँग पनि हामी अनभिज्ञ नै छौँ।

जहाँबाट हाम्रो जन्म भयो त्यो उद्गमसँग नै हामी अपरिचित छौँ अर्थात् हामीले ख्याल गरेका छैनौं। हामी बुद्धको भूमि, सगरमाथाको देश, योग भूमि भनेर जति गर्व गर्छौं यि परिचयलाई आफ्नो जीवनको गुणवत्तामा रूपान्तरण गरेर हाम्रो जीवनशैली मार्फत गर्व गर्ने बेला आएको छ।

त्यसो त आजकल विभिन्न सम्प्रदाय, धार्मिक संघसंस्था लगायत थुप्रै योगाचार्यहरूले विभिन्न तरिकाले मानिसहरूलाई योगतर्फ उन्मुख गराउन प्रेरित गरिरहेका देखिन्छन्। योग मानिसको जीवन जिउने कला मध्यको एउटा महत्वपूर्ण माध्यम हो तथापि हातखुट्टा तन्काउनु, स्वाप्रस्वासका प्रक्रिया मार्फत शारीरिक अभ्यास गर्नु मात्र योग होइन। योग हाम्रो जीवन पूर्णतासाथ जिउन आवश्यक पर्ने जीवन पद्दति र पूर्ण जीवनशैली अनि आनन्दित जीवन जिउने कला हो। योगलाई मानिसहरूले शारिरीक स्वास्थ्य र तन्दुरुस्तिको माध्यम बनाएका हुनसक्छन तर योग शारिरीक समस्याहरूको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याहरूको समाधान हो। त्यसैले त भनिएको छ–

 भवतापेंन तप्तानाम योगो हि परमौषधम

अर्थात् सांसारिक दु:खकष्टहरूको एक मात्र औषधि योग हो।

शरीरका सात चक्र र योग

योग स्वस्थ शरीर र स्फूर्त दिमागका लागि हो। शारीरिक, मानसिक, सामाजिक, भावनात्मक र आध्यात्मिक रूपबाट सन्तुलनमा रहने माध्यम हो। शरीरका सबै क्रियाकलाप र जीवनशैलीले यसमा सिधै प्रभाव पार्दछन्। आधुनिक व्यायाम बाहिरी स्थूल शरीरमा मात्र केन्द्रित हुन्छ। शारीरिक व्यायाम उमेर हुने, तागत हुने अनि निरोगीले मात्र एउटा अवधिसम्म गर्न सक्दछ।

तर, योगाभ्यास सबै अवस्था परिस्थितिमा बच्चा, युवा, युवती, उमेर पुगेकाले मात्र होइन, बिरामीले पनि गर्न सक्दछन्। पतञ्जलि योग दर्शनमा अष्टांगः यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी योगलाई आठप्रकारमा विभाजन गरिएको छ।महर्षि पातञ्जलि भन्नुहुन्छ–सबैभन्दा सर्वश्रेष्ठ रसर्वप्रथम नियम अनुशासनको कर्तव्यको पालना गर्नुपर्दछ।

योगको विशेषता भनेको नै शरीर मात्र नभएर स्वस्थ, निरोगी, सुन्दर भएर मात्र हुँदैन, मनको पनि विकास र समृद्धिसँग जोड्नु हो।योगमा मनको सर्वोच्चताको मापन, धारणा, ध्यान, समाधि द्वारा गरिन्छ। शरीरको मापन व्यायाम, प्राणायामद्वारा गरिन्छ। मौलिकरुपमा योगका ७ आयाम छन् भने शरीरका पनि ७ चक्र छन्।कर्मयोग मूलाधार चक्रसंग सम्बन्धित छ। तंत्रयोग स्वाधिष्ठान चक्रसँग सम्बन्धित छ। हठयोग मणिपुर चक्रसँग सम्बन्ध राख्दछ। भक्तियोग अनाहत चक्रसँग सम्बन्धित छ।

ज्ञानयोग विशुद्धि चक्रसँग सम्बन्धित छ। ध्यानयोगआज्ञा चक्रसँग सम्बन्ध राख्दछ र सांख्ययोग सहस्रारसँग सम्बन्धित छ। हाम्रो कर्म, भावना, विचार, सम्बन्ध, सुरक्षा, प्रेमाकाँक्षा, सम्मान, रस्व–बोधयोग र शारीरिक क्रियाकलापसंगै जोडिएर आउने भएकोले समग्रतालाई बट्टुनुपर्ने हुन्छ। मस्तिष्कको काम नै सोच विचार, हिसाबकिताब, नाफाघाटा, के, किनयस्तैमा केन्द्रित हुनु हो।

हृदयले यसको विपरितमा सहजता र प्रेमपूर्ण रूपले किन र के, नाफा र घाटा नभनी गर्नुपर्छ त्यसैले गर्ने, फैलिन थाल्दछ अकारण प्रेम र सहयोगमा। मसँग हृदय पनि छ, हृदयको झन्कार र यसले मलाई गरेको निर्देशन मैले पालना गर्न सक्छु भन्ने एहसास सम्म मानिसमा हुँदैन। 

आत्मजागरणले आत्मविश्वास बढाउँछ र समग्र विकासको माध्यम बन्दछ, जीवन सन्तुलनमा चल्नुपर्दछ। एकोहोरो अहंकारले युद्धको भूमिमा पुर्याउँछ कहिले शक्तिको नाममा, कहिले धर्म र साम्प्रदायिकताको नाममा, कहिले राजनीतिक मुद्धा त कहिले कुनै विषयले गर्दा आवश्यकता भन्दा बढी समय कटुता, द्वन्द्व र मनमुटावमा खर्च भइरहेको हुन्छ।

बेहोसीको एउटा पराकास्टा बनेर जीवन बाँचेको हुन्छ। हाम्रो जीवनशैली र क्रियाशीलता जस्तो विचार र भावसँग जोडिन्छ कर्मको परिणाम त्यस्तै नै आउँछ। सफलता या असफलता, विपद या सुख, शान्ति या वैराग्य सबै हाम्रा कर्मका परिणाम हुन्।

यसमा हाम्रो धारणा र शारीरिक जीवनशैलीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। मलाई जीवनमा किन यस्तो भयो अर्थात् देशमा किन यस्तो अवस्था छ भन्नु पूर्व कर्म र विचारले के प्रभाव पार्यो त्यसमा ध्यान दिनुपर्ने हुन्छ।

मनका वृत्ति के हुन्?

योगको परिणाम हासिल गर्न मनको समाप्ति हुनुपर्छ भने मनका वृत्ति के हुन् र कसरी जागृत हुने जान्नु र जीवनमा अभ्यासरत हुनु जरुरी हुन्छ। काम, क्रोध, लोभ, मोह, ईर्ष्या र द्वेष मनका वृत्तिहरू हुन्। यिनको विकास भयो भने अरूको हितमा कुनै विकासको काम गर्न सकिन्न।

यिनै वृत्तिको तरंग बढ्दै गयो भने सामान्य मनमुटाव, गुटबन्दी, सम्बन्धमा टकरावदेखि लिएर युद्धको आगो सल्किन बेर लाउँदैन। तर, यि वृत्तिलाई जानेर माथि उठ्न सकियो भने समग्र विकासमा सघाउ पुग्दछ। मनका वृत्तिहरूलाई सिधै नियन्त्रणमा लिन सकिँदैन तर एक–एक गर्दै जरैदेखि उखेलेर फाल्ने कोशिस गरियो भने सबै किसिमका वृत्तिहरूबाट मुक्त भइन्छ र आत्मजागरण हुन्छ।

आत्मजागरणले आत्मविश्वास बढाउँछ र समग्र विकासको माध्यम बन्दछ, जीवन सन्तुलनमा चल्नुपर्दछ। एकोहोरो अहंकारले युद्धको भूमिमा पुर्याउँछक्ष् कहिले शक्तिको नाममा, कहिले धर्म र साम्प्रदायिकताको नाममा, कहिले राजनीतिक मुद्धा त कहिले कुनै विषयले गर्दा आवश्यकता भन्दा बढी समय कटुता, द्वन्द्व र मनमुटावमा खर्च भईरहेको हुन्छ।

उपलब्धिमूलक समय त्यसै अनावश्यक कार्यमा बितिरहेको हुन्छ। योजना, उपलब्धि र उत्पादकत्व, सत्यता अनि गरिमामय अर्थपूर्ण कार्यक्रम पछाडि धकेलिन्छन्, जे पनि कुरा समयभन्दा पछि पुग्नु भनेको कमजोरीको लक्षण हो। स्व–केन्द्रित स्वभाव, आलोचना, तर्क, स्वार्थ, कलहरएक अर्कालाई दोष देखाउने काममै ऊर्जा खेर गईरहेको हुन्छ, अठोट, निर्भयता, संकल्प र बहुजन हितायको भावले कर्म गर्ने सोचको वृद्धि नहुँदासम्म अपूर्णता र अस्थिरतामै समय खेर जान्छ।

आफ्ना मनका वृत्ति र तिनको तरंगलाई जान्न सक्नु नै विकासको मार्गमा अघि बढ्ने माध्यम हुन्छ। परिस्थितिलाई सम्हाल्न समय लाग्ला तर कथालाई सच्याएर जागृत भावमा कर्म गर्ने उद्धेश्य राख्न सके समग्र विकासको आधार तय हुन्छ। त्यसैले योग सांसारिक सोचदेखि मनका वृत्तिबाट सजग भएर आध्यात्मिकताको बोधसम्म गर्न सकिने मध्यम भएकोले यो हाम्रो जीवनशैली बन्नुपर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.