|

विराटनगर : नोबेल मेडिकल शिक्षण अस्पताल  र आन्दोलनरत विद्यार्थीका अभिभावकबीच भएको सहमतिको विभिन्न ६ विद्यार्थी संगठनले विरोध गरेका छन्।

आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिबार साँझ सहमतिपत्रमा हस्ताक्षर गरेको सार्वजनिक भएको थियो।

उक्त सहमतिको विद्यार्थी संगठनले विरोध गरेका हुन्। अभिभावक र कलेजबीच भएको सहमतिमा प्रतिविद्यार्थी मासिक १२ हजार लिइँदै आएको होस्टेल शुल्क घटाएर १० हजारमा झार्नेलगायत उल्लेख छ।

‘संयुक्त विद्यार्थी संगठनको आन्दोलन चलिरहेकै वेला मिति २०७८ माघ १ गते नोबेल मेडिकल कलेज प्रशासन र केही बिकाउ अभिभावकले ५ बुँदे सहमति गरिएको कार्यप्रति हामी संयुक्त विद्यार्थी संगठन र पीडित विद्यार्थीको गम्भीर आपत्ति रहेको छ’‚ आइतबार बिहान जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘आर्थिक प्रलोभनमा परेर चारजना बिकाउ अभिभावकले संयुक्त विद्यार्थी संगठन, चिकित्सा शिक्षा संघर्ष समिति, पीडित विद्यार्थी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको अनुपस्थितिमा भएको सहमति हामीलाई मान्य छैन।’

राज्यले बनाएको ऐन कानुनको पालना गर्ने गराउने कार्य सरकारको भए पनि गत पुस ३० गते शिक्षा मन्त्रालयमा मेडिकल कलेज सञ्चालकसँग भएको वार्ताबाट पनि चिकित्सा शिक्षा आयोगले निर्धारण निर्देशन गरेको ऐनविपरीत निर्णय भएको विद्यार्थीको दाबी छ।

‘यो निर्णयले सरकार पनि मेडिकल माफियासँग मिलेको त छैन भन्ने गम्भीर प्रश्नचिह्न खडा भएको छ’‚ विज्ञप्तिमा उल्लेख छ, ‘हामी संयुक्त विद्यार्थी संगठन उक्त निर्णय सच्याउन र ऐन कानुन नमान्ने माफियालाई गिरफ्तार गरि कारबाही गर्न जोडदार माग गर्दछौं।’

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क र निर्देशन अक्षरसः पालना हुनुपर्छ भन्नेमा आफूहरू एकमत रहेको पनि विद्यार्थी संगठनहरूले जनाएका छन्।

‘केही अभिभावकले आर्थिक प्रलोभनमा परेर गरेको सहमतिले हाम्रो आन्दोलन रोकिँदैन, राज्यको कानुन नमान्ने नोबेल मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन सरकारसँग हामी जोडदार माग गर्दै हाम्रो आन्दोलन सशक्त रूपमा जारी रहने यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं’‚ विज्ञप्तिमा भनिएको छ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्रबहादुर घिमिरे, चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक मनीष भट्टराई, नेपाल विद्यार्थी संघ मोरङका जसवन्त पौडेल, अनेरास्ववियु मोरङका जोसेफ घिमिरे, अनेरास्ववियु मोरङका सचिव निर्मल भण्डारी र समाजवादी विद्यार्थी युनियन प्रदेश १ का उपाध्यक्ष तरुणविक्रम खवास रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.