|
तस्वीर सौजन्य : रोयटर्स

विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन गुमाउने भएका छन्।

अस्ट्रेलियाले दोस्रो पटक पनि उनको भिसा रद्द गरेपछि उनी अदालत पुगेका थिए।

तर अदालतले दोस्रो पटक भने अस्ट्रेलियाली सरकारको पक्षमा फैसला गरेपछि जोकोभिचले अस्ट्रेलिया छाड्नु पर्ने भएको हो।

जोकोभिचलाई ३ वर्ष अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लाग्ने जोखिमसमेत रहेको छ।

प्रधानन्यायाधीशले जोकोभिचको मुद्दा खारेज गरिएको जानकारी दिएका थिए।

अदालतको निर्णयपछि उनले भने, 'निर्णय अत्यन्त निराशाजनक रह्यो। तर म निर्णय स्विकार्दै आवश्यक सहयोग गर्न तयार छु।'

उनले स्वदेश फर्कन अस्ट्रेलियाली अधिकारीहरूलाई सहयोग गर्ने बताए।

जोकोभिचको मुद्दामा ३ न्यायाधीशको संयुक्त इजलासले आइतबार सुनुवाइ गरेको थियो।

जोकोभिचका वकिलले सरकारले दिएको विवरण असत्य भएको भन्दै बचाउ गर्ने प्रयास गरेका थिए।

अस्ट्रेलियाली सरकारले जोकोभिचलाई सार्वजनिक खतरा रहेको भन्दै भिसा रद्द गरेको जनाएको थियो।

अस्ट्रेलियन ओपनमा आउनुअघि उनी कोरोना पोजेटिभ थिए। त्यसका बाबजुद सर्वियाका विभिन्न सार्वजानिक कार्यक्रममा उनी उपस्थित भएका थिए।

यो तथ्य उनले अस्ट्रेलियाको अध्यागमनलाई ढाँटेका थिए। जसका कारण उनको सर्वत्र आलोचना भएको थियो। 

अस्ट्रेलियन ओपनमा उनको सोमबार खेल्ने कार्यतालिका थियो। यो पटक उनी उपाधि रक्षाका लागि कोर्टमा हुने थिए।

तर अब यो सम्भावना समाप्त भएको छ। सन् २०२१ को अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिचले डेनियल मेदवेदेवलाई ७-५, ६-२ र ६-२ ले हराउँदै उपाधि जितेका थिए।

पहिलो पटक भिसा रद्द हुँदा उनले मुद्दा जितेका थिए।

मेलबर्न कोर्टले अस्ट्रेलियाली सरकारको निर्णय खारेज गरेको थियो।

त्यसपछि उनले अभ्याससमेत सुरु गरेका थिए तर दोस्रो पटक अदालतले अस्ट्रेलियाली सरकारको निर्णय सही ठहर्‍याउँदा जोकोभिच घर फर्कनुपर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.