|

काठमाडौं : खल्ती एप्सको कर्मचारी हौँ भन्दै अनलाइन ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरूमा पर्सा छिपहरमाई-२ का १८ वर्षीय निरञ्जन कुमार गुप्ता र सोही ठाउँकै १८ वर्षकै करण यादव रहेको प्रहरीको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

उनीहरूले विभिन्‍न व्‍यक्तिहरूलाई फोन गरी आफूहरू खल्ती एप्सको कर्मचारी हौँ भनी नवीकरण गर्न लगाई अनलाइन ठगी गरेका हुन्।

उनीहरूले मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन गरी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा ओटिपी कोड (OTP Code) आउँछ अरू कसैलाई नदिई हामीलाई टिपाउनु भनी पीडितहरुलाई विश्वासमा पारी उक्त कोडबाट पीडितकै खल्ती आइडी खोलेर विभिन्न व्‍यक्तिहरूको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी रकम ठगी गरेको प्रहरीको भनाइ छ।

त्यस्तै, उनीहरूले पीडित व्‍यक्तिहरूको नागरिकताको फोटोकपी पेस गरी आइएमई IME तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर (City Express Money Transfer) बाट रकम निकाली अनलाइन ठगी गरेका हुन्।

प्रहरीले ठगीमा संलग्न गुप्तालाई जिप्रका, पर्सासँग समन्वय गरी निजहरूलाई पुस ३० गते पक्राउ गरेको हो। उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको र थप अनुसन्धा कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.