|
तस्वीर : पार्थ मण्डल

झापा : जिल्ला प्रशासन कार्यालय झापाले आइतबार विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न थालेको छ।

राहदानी विभागले जिल्लामा पहिलो पटक विद्युतीय राहदानी पठाएपछि प्रमुख जिल्ला अधिकारी छवि रिजालले आइतबार सेवाग्राहीलाई विद्युतीय राहदानी वितरण गर्दै यसको शुभारम्भ गरेका हुन्।

प्रजिअ रिजालले आफ्नै कार्यकक्षमा कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, कर्मचारी तुलसी आचार्य र सेवाग्राही नतुन थापालाई एकै पटक विद्युतीय राहदानी वितरण गरेका हुन्।

विभागले विद्युतीय राहदानी प्रयोगमा ल्याएसँगै जिल्ला प्रशासन कार्यालय झापाले जनवरी १ तारिखदेखि विद्युतीय राहदानीकf लागि अनलाइन फारम लिन सुरु गरेको सहायक प्रजिअ रुद्रप्रसाद न्यौपानेले बताए।

सुरुमा परीक्षणका लागि थोरै संख्यामा अनलाइन फारम लिएर कार्यालयभित्रै फोटो खिचाएको उनले बताए। 

उनले भने, ‘जनवरी १ तारिखदेखि १२ तारिखसम्म बुझाएका १ सय ६८ वटा फारमको विद्युतीय राहदानी आएको हो, राहदानी आएपछि आजैबाट वितरण सुरु गरेका हौँ।’

‘पहिला फारम भरी राहदानी विभागमा पठाउँदा एकदेखि डेढ महिनासम्म लाग्थ्यो, विद्युतीय राहदानी जारी भएपछि १५ दिनभित्रै आउने गरेकोले सेवाग्राहीलाई  सहज भएको छ,’ उनले भने।

विद्युतीय राहदानी सेवाग्राही अनलाइनमार्फत घरबाटै भर्न पाउँछन्। पहिलाको राहदानीमा फोटो प्रस्ट नआउने समस्या थियो।

विद्युतीय राहदानीमा फोटो प्रस्ट आउनुका साथै व्यक्तिगत विवरणको चिप पनि राखिएको छ।

‘फारम भरेपछि फारममै कहिले कार्यालय गएर फोटो खिचाउने र राजश्व तिर्नुपर्छ भनी मिति उल्लेख हुन्छ र मोबाइलमा पनि एसएमएस पनि आउँछ,’ राहदानी शाखाका अधिकृत रामहरि खतिवडाले भने, ‘विद्युतीय राहदानीले धेरै सहज भएको छ, यसले काम पेपरलेस गराउनुका साथै कार्यालयबाहिर गएर फोटो खिचाउने झन्झट पनि अन्त्य गरेको छ।’

अहिले दिनमा ४०-५० जनासम्मको फोटो खिचिरहेको उनले बताए।

फेब्रुअरीदेखि दैनिक ७० बढीको फोटो खिचाउने लक्ष्य राखिएको उनले बताए।

वार्षिक राहदानी लिनको संख्या जिल्लामा बढ्दै गएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.