|

सल्यान : विपन्न समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै  गएको छ।

विपन्न समुदायका जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार जिल्लाको दार्मा गाउँपालिकामा सञ्चालन गरिएका सिप तालिमबाट ग्रामीण क्षेत्रका महिला तथा पुरुष लाभान्वित भएका छन्।

महिला चुलोचौको र पुरुष घरमै अरू काममा सीमित भएका दार्माका समुदाय अहिले धमाधम सिप सिक्न व्यस्त छन्।

दार्मा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी वडा कार्यालयको सिफारिसमा सिलाइकटाइ, प्लम्बिङ, विद्युत् वाइरिङ, ड्राइभिङ, कम्प्युटर तालिममा महिला पुरुष व्यस्त हुँदै आइरहेका छन्।

सिलाइकटाइमा महिला ३६ जना, प्लम्बिङमा २६ जना पुरुष, मसला उद्योगमा १२ जना महिला, ड्राइभिङ ३६ जना पुरुष, विद्युत् वाइरिङमा ३० जना पुरुष, होजियारीमा ३० महिला  र कम्प्युटर मर्मत ३० मा गरी जम्मा २ सय जनाले तालिम लिइरहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकालाई आर्थिक रूपमा बलियो बनाउन आयआर्जन तथा उद्यमशीलता तालिम र व्यवसायमा बजेटको व्यवस्था गरिएको उपाध्यक्ष टीका शर्मा वलीले बताइन्।

स्वरोजगार बनाउन सरकारले खर्च गरेको पैसाले सिप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा उनको जोड रहेको छ।

गाउँपालिकाले तालिम सिकेर व्यवसाय शुरु गर्नेलाई थप सिप सिकाइने र औजारका लागि बजेटको व्यवस्था गर्ने थप व्यवस्थाका लागि अरू निकायसमक्ष समन्वय गर्ने उनको भनाइ छ।

स्थानीय कच्चा पदार्थबाट सामग्री उत्पादन गरेर विक्री वितरणका लागि बजारीकरण गरी आर्थिक हिसाबमा बलियो बनाई गरिब असहायलाई उद्यमी बनाउन यो कार्यक्रमले टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष शर्माले बताइन्। 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.