|

काठमाडौं : इलाम नगरपालिकामा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ। यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार अगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो। नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। १६ यात्रु सिट क्षमताको जहाज एकतर्फी भाडा आठ हजार ७०० रूपैयाँ तोकिएको छ। सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ।

नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको छ। नगर प्रमुख महेश बस्नेतले आठ हजार ७०० रूपैयाँमा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिए। हाल तीन हप्ताका लागि सम्झौता भएको छ। कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको छ।

सम्झौताअनुसार यस अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ। गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि उडान–अवतरणका लागि विमानस्थल तयार भइसकेको छ।

विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौर्डाको धावनमार्ग कालोपत्रे भएको छ।  विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रूपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ। २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ सिक्किमलगायतका बासिन्दालाई सुविधा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.