|

अफ्रिकन कप अफ नेशन्समा साविक च्याम्पियन अल्जेरिया अप्रत्यासित हारको सिकार भएको छ। समूह ‘इ’को आफ्नो दोस्रो खेलमा इक्वाटोरियल गिनीसँग १-० ले पराजित भएसँगै अल्जेरियाको ३५ खेलसम्मको अपराजित यात्राको औपचारिक अन्त समेत भएको छ।

अधिकांश समय गोलरहित बराबरी भएको खेलमा इक्वाटोरियलले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरेको थियो। उसका लागि ओरोजोको फर्नान्डेजले गरेको एक मात्र गोल निर्णायक बन्यो। पराजित भएसँगै अल्जेरिया जारी संस्करणको समूह चरणबाटै बाहिरिने खतरा समेत बढेको छ।

अल्जेरियाले २०१८ पछि पहिलो हार भोगेको हो। इटालिले गत वर्ष सर्वाधिक धेरै अपराजित रहने टिमको रुपमा बनाएको इतिहासभन्दा अल्जेरिया दुई खेल टाढा थियो। तर‚ उसको सपनामा इक्वाटोरियल गिनी बाधक बन्यो। इक्वाटोरियल नेशनल सुपरकपमा १०१५ को सेमिफाइनलमा स्थान बनाएपनि यो प्रतियोगिताका लागि भने पहिलो पटक क्वालिफाई गरेको थियो। यो उसको इतिहासमा ठूलो सफलता समेत हो।

हारपछि समूहमा अल्जेरिया एक अंकका साथ पुछारमा छ। समूहकै अर्को खेलमा आइभरी कोस्ट र सेरालियोनले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे। बराबरीपछि आइभरी कोस्ट चार अंकका साथ शीर्ष स्थानमा रहँदा इक्वाटोरयल गिनी तीन अंकका साथ दोस्रो तथा सेरालियोन तीन अंकका साथ तेस्रो स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.