तीन पुस्तादेखि जोतेको जग्गामा एसएसबिले लगायो प्रतिबन्ध

|

झापा : कचनकवल गाउँपालिका–५ पाठामारीका सहदेवसिंह राजवंशीले एक बिघा चार कट्ठा जग्गामा परिवारसँगै खेतीपाती गर्दै आइरहेको जमिन भारतीय सिमा भित्र पारिएपछि उनी तनावमा परेका छन्।

आमा फागनी राजवंशीको नाममा जग्गाधनीपुर्जा रहेको सहदेवको परिवारले तीन पुस्तादेखि उक्त जग्गा भोगचलन गर्दै आएको हो। तर‚ अहिले सहदेवको जग्गा आधा नेपाल र आधा भारतमा परेको छ। उनको खेतमै ११२/९ नम्बरको सीमा पिलर गाडिएको छ।

नेपाल सरकारले २०५२ सालमा दिएको जग्गा धनीपुर्जाको प्रमाणपत्र देखाउँदै सहदेवले नेपालको जग्गा कहिले भारतको भयो भन्ने पत्तै नपाएको बताए। उनले जग्गा नभएको धनीपुर्जाको अब काम नभएको बताए।

‘नेपाली भूमि कहिले भारत भयो, पत्तै पाएनौं! हाम्रो देशको सरकार के हेर्दैछ? भारतकै जग्गा हो भने कसरी नेपाल सरकारले हामीलाई जग्गा धनीपुर्जा दियो?‚’ सहदेवले भने‚ ‘जग्गा नभएको जग्गाधनीको के काम, पुर्जा लगेर सिडिओ साबलाई बुझाउनुभन्दा अन्य विकल्प हामीसँग छैन।’

सहदेवका भाइ गोविन्दका अनुसार उनीहरूको खेत भारतीय भूमिमा परेको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दैनिकजसो दुःख दिने गरेको छ। यस्तो ज्यादति सहनुभन्दा धनीपुर्जा सरकारले लग्दा हुने बताउँछन्।

‘सरकार कि हाम्रो धनीपुर्जा लेउ, कि हामीलाई जग्गा दिलाऊ,’ उनले दुखेसो पोख्दै भने‚ ‘भारतीय एसएसबीको ज्यादती अब सहन सक्दैनौँ।’

सहदेवका परिवार मात्र मात्रै होइन‚ पाठामारीका आधा दर्जनभन्दा बढी परिवारको जग्गा भारतले कब्जा गरिसकेको छ। पुरानो दशगजाको बाटो त्यतिकै छ। त्यो बाटो नै दुई देशको सीमा छुट्टाउने मुख्य बिन्दु हो। त्यहीं स्थानीयहरू आवतजावत गरिरहेका छन्। तर, दशगजादेखि करिब ३०० मिटरभित्र करिब ५ वर्षअघि खेतमै लगेर सीमा पिलर गाडेको कुसुम लाल गणेश बताएँछन्। हातहतियारसहित आउने एसएबसीले जहिले पनि हप्काउने गरेको गणेशको गुनासो छ।

एसएसबीले भन्ने गरेको कुरा गणेले सुनाए‚ ‘यहाँ खेती बन्द करो, नहीँ तो बाली उखाड के फेक देङगे।’ त्यस क्षेत्रमा आफ्नो १० कट्ठा जग्गा रहे पनि ६ देखि ७ कट्ठा भारतले कब्जा गरेको गणेशले बताए।

‘धनीपुर्जामा जग्गा छ, मालपोत पनि तरिरहेको छु, भोग गर्न समस्या भइरहेको छ। हामी गरिब मान्छे अब के गरी खाने, खेतीपाती नै मुख्य पेसा हो,’ उनले भने, ‘मेरो खेतमा ११२/१२ नम्बरको पिलर गाडिएको छ, पिलर वरिपरि दुवै देशका सुरक्षाकर्मीको उपस्थितिमा केही दिनअघि मात्र बाँस गाडेर गएको छ। बाँस गाडिएको स्थान वरिपरि नखन्नु, नत्र कानुन लाग्छ भनेर हामीलाई धम्काउँछन्।’

मुनालाल गणेशको बुबा वेङ्गा गणेशको नाममा सीमा पिलर नजिकै १५ कट्ठा जग्गा छ। उनको पनि आधा जग्गा भारतले कब्जा गरिसकेको छ। उनको खेतमा ११२/११ नम्बर सीमा पिलर गाडिएको छ। धनिपूर्जामा जग्गा देखाउँदै मुनालालले भने, ‘पहिला दशगजा यहाँदेखि ३ देखि ४०० मिटर पर थियो, अहिले खेत नै दशगजामा पर्‍यो।’

आफ्नै जग्गामा जोतभोग नगर्न एसएसबीले रोक लगाएको उनले सुनाए। आफ्नो जग्गामा एसएसबीले बाँसको भाटा गाडेर गएको मुनालालले बताए। यसबारे जनप्रतिनिधि र सुरक्षाकर्मीलाई जानकारी दिए पनि कसैले आफ्नो पक्षमा नबोलेको उनको गुनासो छ।

‘जनप्रतिनिधिहरूलाई पनि पटक पटक बोलाएर देखायौं,’ उनले भने‚ ‘उनीहरू हेरेर जान्छन्। यो त राज्यले सम्बोधन गर्नुपर्ने हो भन्छन्।’ मुनालालले खेर पिलर गाडेर जान्छन् भन्ने स्थानीयले थाहा नपाउने बताए।

त्यस्तै‚ हरिलाल यादवको १ बिघा ८ कट्ठा, श्यामबती देवी यादवको २ कट्ठा जग्गा पनि भारतले कब्जामा लिइसकेको छ। ती जग्गाको पनि नेपाली धनीपुर्जा रहेको श्यामवतीकी छोरा ओमले बताए। ‘आमाको नाममा रहेको दुई कट्ठा जग्गा नै भारतमा परिसकेको छ,’ उनले भने, ‘जोतभोग गर्न पनि एसएसबीले दिँदैन, अब यो जग्गा कसरी फिर्ता पाउने हो?’

सीमा विवाद संघी सरकारले पहल गर्नुपर्छ

कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलम सीमासम्बन्धी विवाद स्थानीय सरकारले गर्न नसक्ने भएकाले नेपाल सरकारले सम्बोधन गर्नुपर्ने बताउँछन्।

‘स्थानीय सरकार सीमा विवाद समाधान गर्न सक्दैन,’ उनले भने, ‘यसका लागि संघीय सरकारले नै पहल गर्नुपर्ने हुन्छ।’

धनीपुर्जा भएको जमिन मात्र भारतले लगेको नभई त्यस क्षेत्रमा भारतीय पक्षले अवरोध गर्ने गरेको अध्यक्ष आलम बताउँछन्।

‘केही दिनअघि मात्र भारतीय एसएसबीले नेपाली भूमिमा बन्दै गरेको तटबन्ध रोक्न खोज्यो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय सिमाना मेची नदीको दशगजा क्षेत्रबाटै बालुवा उत्खनन गर्ने कार्य समेत भइरहेको छ। यस्तो गतिविधि तत्काल रोक्न संघीय सरकारको ध्यान केन्द्रित हुनुपर्छ।’

झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले पाठामारीको सीमा विवादबारे आफूलाई जानकारी नभएको बताए। भर्खरै सरुवा भएर जिल्ला प्रशासन कार्यालय आएको हुनाले त्यस विषयमा अध्ययन गरे मात्र मिडियालाई प्रतिक्रिया दिने उनले प्रतिक्रिया दिए।

गुगल नक्सामा छैन भारतले कब्जामा लिएको जग्गा

भारतले नेपाली भूमि कब्जा गरेको नेपाल भारतको अन्तर्राष्ट्रिय सीमा गुगल नक्सामा देखिँदैन। ११२/७ देखि ११२/१४ सम्मको सीमा पिलरको रेखांकन मात्र गुगल नक्सामा देखिन्छ।

पछि गाडिएको ११२/८ देखि १२२/१३ सम्मको पिलर अन्तर्राष्ट्रिय सीमा देखाउने गुगल नक्सामा खोज्दा पनि भेटिएन। गुगल नक्सामा नदेखिएको जग्गा नेपाली भूमि पर्छ। त्यो गुगल नक्सामा पनि प्रस्ट देखिन्छ।

स्थलगत रिपोर्टिङमा पुगेका थाहाकर्मीले गुगल नक्सामा ‘सर्च’ गर्दा त्यसमा भारतले कब्जा लिएको जग्गाभन्दा निक्कै पर अन्तर्राष्ट्रिय सीमा देखाएको छ। गुगल रेखांकनमा अन्तर्राष्ट्रिय सीमा पुरानो दशगजा क्षेत्र नै देखाउँछ।

‘गुगल नक्सामा नदेखाएको जग्गा कसरी भारतीय भूमि भयो? भारतमा परेको हो भने नक्सामा किन नेपाली भूमि नै हो भनी देखाउँदैछ,’ स्थानीय रत्नकुमार बुढाथोकीले भने‚ ‘पाठामारीमा सीमा विवाद देखिएकोले माथिल्लो निकायबाट तुरुन्त यसको स्थलगत अनुगमन र निरीक्षण हुनुपर्छ।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.