|

काठमाडौं : वि.सं. २०७६ चैत २८ गते प्रदर्शन तय भएको फिल्म कोरोनाका कारण रोकियो।

त्यसपछि २०७८ पुस २ लाई फिल्मको अर्को प्रदर्शन मिति तोकियो जतिवेलासम्म जनजीवन धेरै हदसम्म सामान्य भइसकेको थियो, हलमा लागेका केही विदेशी फिल्मले राम्रो प्रदर्शन पनि गरिरहेका थिए। 

तर सोही मितिमा दुई वटा बहुप्रतीक्षित विदेशी फिल्म 'स्पाइडर म्यानः नो वे होम' र 'पुष्पाः द राइज' पनि प्रदर्शनमा आउने भएपछि निर्मातालाई त्यो मितिमा फिल्म प्रदर्शनका लागि सुरक्षित लागेन।

फेरि फिल्मलाई दुई साता पछि सार्ने निर्णय भयो। पुस १६ देखि प्रदर्शनमा आउन लागेको अर्को नेपाली फिल्म 'कठपुतली'का कारण 'चपली हाइट ३' पुस १५ बाट पनि दुई साता पछाडि सरेर पुस ३० मा पुग्नु पर्‍यो। 

'चपली हाइट ३' प्रदर्शनमा आउने दिन कुनै ठूला विदेशी फिल्म प्रदर्शनमा आउनेवाला थिएनन्।

प्रदर्शनमा आउने भनिएको भारतीय फिल्म रोकिनुले पनि 'चपली हाइट ३' लाई राम्रै हुने संकेत देखिएको थियो।

तर, जतिजति प्रदर्शन मिति नजिकिँदै गयो नेपालमा कोरोना संक्रमणको दर पनि बढ्दै गयो। 

शुक्रबार उच्च शोका साथ प्रदर्शन सुरु गरेको चपली हाइट ३ तीन दिन मात्र हलमा लाग्न पायो।

कोरोना संक्रमणदर उच्च हुँदै गएको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्देशन दियो।

जसको प्रत्यक्ष असर महिनौँ पर्खिएर भर्खर हलमा लागेको 'चपली हाइट ३' लाई पनि पर्‍यो। 

शुक्रबार प्रदर्शनमा आएको फिल्मले पहिलो दिन अपेक्षित दर्शक पाउन सकेन।

माघ दोस्रो सातादेखि सरकारले हलमा पनि कोभिडविरुद्ध खोप अनिवार्य गरेको थियो।

मन्द गतिमा सुरुवात भएपनि 'वर्ड अफ माउथ' बलियो हुने र बिस्तारै फिल्मले दर्शक पनि पाउने आशा यसका निर्माताले गरेका थिए।

तर, आकस्मिक रुपमा सरकारले हल नै बन्द गर्ने निर्देशन दिएपछि आफ्नो फिल्म राम्रो छ भन्ने सन्देश दर्शकसम्म पुर्‍याउन नसकेको गुनासो निर्माता अर्जुन कुमारले गरेका छन्। 

आइतबार कलाकार तथा पत्रकारका लागि गरिएको विशेष शोपछि बोल्दै निर्माता कुमारले सो कुरा बताएका हुन्। 

लामो समयदेखि फिल्म निर्माणमा सक्रिय भए पनि यो फिल्ममा जस्तो दुःख यसअघि नपाएको उनको भनाइ छ। 

'तीन दिन फिल्म लागेर फेरि हल बन्द हुँदै छ। रोएर, आँशु खसालेर हुनेवाला पनि केही छैन,' उनले भने, 'रोग छ, जनस्वास्थ्यको ख्याल पनि गर्नुपर्छ। हल बन्द गर्नु हुँदैन भनेर झण्डा बोकेर हिँड्ने कुरा पनि भएन।' 

तर, विशेष कारणवस अहिले फिल्म स्थगित गर्नु परे पनि कोभिड साम्य भएपछि फेरि फिल्म प्रदर्शन गर्ने उनले बताएका छन्। 

आइतबार सरोज खनाल, केकी अधिकारी, पूजा शर्मा, वर्षा राउत, पल शाहलगायत कलाकारले 'चपली हाइट ३' हेरेका छन्।

सस्पेन्स थ्रिलर जनरामा बनेका नेपाली फिल्ममध्ये 'चपली हाइट ३' अब्बल रहेको र यसले दर्शकलाई बाँधेर राख्ने कलाकारहरूको भनाइ छ। 

फिल्ममा कलाकार तथा निर्देशकको काम तारिफयोग्य रहेको बताइएको छ।

यत्ति राम्रो फिल्म तीन दिन मात्र हलमा लागेर बन्द हुनु दुःखद् रहेको अभिनेत्री केकी अधिकारीले बताइन्।

सबै कुरा मानिसको हातमा नहुने बताउँदै उनले भनिन्, 'कलाकारको, निर्देशकको काम राम्रो छ। कतै पनि आयातित लाग्दैन, नेपालीपन छ। यो फिल्मको वर्ड अफ माउथ कति राम्रो जान्थ्यो। तर, परिस्थिति र प्रकृतिको अगाडि कसैको केही लाग्दैन।'

फिल्म राम्रो बनेको र कोरोना पछि प्रदर्शनमा आउँदा पनि फिल्मले दर्शक पाउने विश्वास आफूलाई रहेको अर्का अभिनेता सरोज खनालले बताए।

तीन/तीन पटक प्रदर्शन मिति सार्नुपरेको फिल्म पुस ३० देखि साँच्चिकै हलमा लाग्दैछ भन्ने सन्देश दर्शकसम्म पुर्‍याउन फिल्मका निर्मातालाई सकस भयो। 

बल्लबल्ल प्रदर्शनमा आएको फिल्म फेरि रोकिएको छ। कुमारलाई यो केही समयको लागि स्थगित भएको हो, सकिएको होइन भन्ने सन्देश दर्शकसम्म पुर्‍याउनुपर्ने बाध्यता छ। 

अब हल खोल्ने अवस्था कहिले आउँछ, 'चपली हाइट ३' फेरि कहिलेदेखि प्रदर्शनमा आउँछ र दर्शकको साथ कस्तो रहनेछ भन्ने हेर्न बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.