|

पर्वत : नेपाली चलचित्र क्षेत्रमा भन्दा नाटक खेल्ने रङ्गमञ्चमा चलेका र रुचाइएका अभिनेता हुन माओत्से गुरुङ।

कास्कीको पोखरा महानगरपालिका–३१ तालबेँसीका स्थायी बासिन्दा उनी २०४६ सालमा ‘पञ्च’ नाटकमा खेलेपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन्। चलचित्रमा भन्दा नाटकमा नै जमेका उनी अहिले चलचित्रमा पनि रोजाइमा परेका छन्।

चलचित्र ‘पुरानो डुङ्गा’ मा भक्तेको चरित्रमा देखिएका उनको अभिनयलाई दर्शकले निकै रुचाए। किनकि त्यो बेलासम्म आइपुग्दा नेपाली चलचित्रहरूको पुरानो शैलीभन्दा रङ्गमञ्चबाट गएका कलाकारहरूको अभिनय दर्शकको रोजाइमा परेको थियो।

‘आर्टिफिसयल’ अभिनय र बोल्ने शैलीको सट्टामा सामान्य तरिकाले बोलिएका र जस्तो छ तस्तै देखाइएका ‘नेचुरल’ चलचित्रहरूले राम्रो ठाउँ पाएका थिए।चलचित्रमा पनि नाटककै जस्तो प्राकृतिक अभिनय गरेपछि सौगात मल्ल, दयाहङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, विपिन कार्की, कर्मा, लगायतका कलाकारहरूको अभिनय अब्बल मानिए।

जसकारण लामो समय नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका कलाकारहरूको ठाउँमा नयाँ कलाकारहरू पुगे।

त्यही भिडमा काँडा, दलन सिरियल, गुरुङ चलचित्र मलामी, लघु चलचित्र अचम्मै भो, कृपा, दयारानी तथा ठूलो पर्दाका पुरानो डुङ्गा, कबड्डी २, ३, ४, चंगाचेट, मिस्टर झोले, साइँली लगायतमा माओत्सेले अभिनय गरेका छन्।

नाटकहरूमा परित्याग, हारेका मान्छेहरू, समस्या, नाम सर्वनाम विशेषण, भिक्षाम देही, अटलबहादुरको आतङ्क, पिआइएनए, मलामीलगायत रहेका छन्। उनी अभिनेता मात्र नभई निर्देशक र ‘स्क्रिप्ट राइटर’ पनि हुन्।

नाटकमा सिकेको अभिनयलाई चलचित्रमा देखाइँदा चलचित्र भए पनि ‘रियल लाइफ’ नियालिरहेको अनुभूति दर्शकलाई भएका कारण रङ्गमञ्चबाट चलचित्रमा पुगेका कलाकाहरुको अभिनय दर्शकको रोजाइमा परेको अभिनेता गुरुङ बताउँछन्।

‘अभिनयलाई नजिकैबाट गहिरिएर बुझ्ने अहिलेको जुन जमात छ, त्यो जमातलाई स्वाभाविक तरिकाले गरिएको अभिनय मन परेको होला भन्ने मलाई लाग्छ। अर्को दर्शकमा आएको चेतनाका कारण पनि हो,’ उनी भन्छन्, ‘अभिनयका बारेमा अहिलेका दर्शक जानकार छन्, कसले कस्तो अभिनय गरेको छ र कसको अभिनयमा के कमजोरी रह्यो भन्ने कुरा आफैँ थाहा पाइहाल्छन्। कलाकारले त हिजोदेखि आजसम्म पनि आफ्ना अभिनय दिइरहेका छन्।’

 पुराना शैलीका अभिनयको बचमा प्राकृतिक शैली

पुराना कलाकारहरूको अभिनय अब्बल हुँदा हुँदै पनि दर्शकहरू एकै खालको ‘प्याट्रन’बाट दिक्क हुँदा फरक शैलीका चलचित्र र कलाकारहरूले स्थान पाएको उनको भनाई छ। दर्शकलाई मोहित बनाउनको लागि निर्देशकले कस्तो चहान्छन् त्यो नै महत्त्वपूर्ण हुने गुरुङको विचारमा लाग्छ।

‘निर्देशकले आर्टिफिसियल टाइपको अभिनय गर्न भनेमा त्यही गर्नुपर्छ। नेचुरल भनेमा त्यही गर्नुपर्छ। मैले पनि त्यही नै हो,’ उनले भने, ‘समय परिस्थिति सँगसँगै फिल्म मेकरहरूमा आएको चेतनाका कारण पनि यस्तो भएको होला। अर्को कुरा अहिले अभिनय गर्नेदेखि निर्देशकसम्मले त्यस सम्बन्धी अध्ययन गरेर क्रम बढेको छ।’

पहिलेको समयमा अभिनय गरेर सिकिने भए पनि अहिले भने त्यससम्बन्धी अध्ययन र अभिनय नै सिकेर आउने कलाकारहरू रहेका कारण पनि पुराना शैलीका चलचित्रको ठाउँ नयाँ शैली र प्राकृतिक अभिनय गरिएका चलचित्रहरूले ठाउँ पाएको माओत्सेको भनाइ छ।

दर्शकले आफ्नो जीवनशैलीभन्दा फरक भन्दा पनि जीवनसँग मेल खाने वा उनीहरूसँगै मिल्दो बोली, भाषा, तरीका र कथा दिनु नै प्राकृतिक खालका चलचित्रहरूको निर्माण भएको भन्न सकिने उनी बताउँछन्।

चलचित्रको व्यापार सुधारियो त?

माथि भनिएका कारणहरूकै कारण नेपाली चलचित्रको व्यापार सुधारिएको र अन्तर्राष्ट्रिय बजार पनि पाउने क्रम बढ्दै गएको उनलाई लागेको छ। ‘प्लेटफर्म’ खोज्न नसक्नेहरूले त्यस्तो खालको बजार र व्यापार नपाएका भए पनि त्यसको खोजी गर्ने र नेपाली मात्रै नभई विदेशका दर्शकलाई समेत मिल्ने खालका कथा, अभिनय र प्रविधिमा निर्माण भएका चलचित्रहरूलाई समस्या नहुने उनको तर्क छ।

गुरुङ भन्छन्, ‘निश्चित हो, हिजोको तुलनामा अहिलेको बजार त अन्तर्राष्ट्रिय भइसकेको छ। प्लेटफर्म खोज्न नसक्नेहरूका लागि त बजारै छैनभन्दा पनि फरक नपर्ला तर खोजी गर्नेहरूले नेपाली चलचित्रलाई विदेशका हलमा पनि त चलाएकै छन्।’

नाटकबाट आएका कलाकारहरूको अभिनय धेरैको रोजाइमा

नाटक खेलेर चलचित्र क्षेत्रमा आएका कलाकारहरू दर्शकको बढी रोजाइमा पर्ने तर्क माओत्सेको छ। नाटकमा बढी मिहिनेत र ‘रिहर्सल’ हुने भएका कारण कलाकारमा दर्शकलाई चाहिएको जस्तो निखरता आउने र त्यो सजिलै दर्शकको मनमा बस्ने उनको दाबी छ।

‘कतिपय व्यक्तिहरू यो मान्न तयार छैनन् होला यद्यपि, नाटक र सिनेमामा गरिने अभिनय धेरै नै फरक हुन्छ। सिनेमामा पनि त्यो माझ्न सकिन्छ।’ उनी थप्छन्, ‘अहिलेको एक्टिङ मेथड हेर्दा सिनेमामा काम गर्ने कलाकारहरुले पनि आफूलाई प्राकृतिक अभिनयमा उभ्याएका छन्।’

नाटकमा अभिनय गर्दा प्रशस्त समय दिएर पटक–पटक अभ्यास गरेको हुनुपर्ने भएकाले कलाकारहरू खारिने तथा चरित्र बुझेर मात्र अभिनय गर्ने कला नाट्य कलाकारहरूमा हुने माओत्सेको भनाइ छ।

 चलचित्र र नाटक अभिनयमा के कति फरक?

नाटकहरूको ‘सिङ्गल फ्रेमिङ’ हुने तर सिनेमाहरूलाई फरक फरक फ्रेमबाट कैद गरिने भएका कारण नाटक र सिनेमामा गरिने अभिनय नै फरक हुने उनको अनुभव छ। चलचित्रको लागि गरिने अभिनयमा त्यति धेरै गहिरिन नपर्ने भए पनि नाटकको लागि गरिने अभिनयमा भने कथामा दर्शककै अगाडि भावनामा डुबेको हुनुपर्ने हुँदा नाटक खेल्नु चलचित्रमा अभिनय गर्नुभन्दा कठिन र फरक हुने गुरुङले बताए।

‘सिनेमामा एंगल र फ्रेमिङ हुन्छ, त्यति धेरै गहिरिन पर्दैन किनकि टाढा लैजाने नजिक ल्याउने काम लेन्सले गरेको हुन्छ।प्राविधिक रूपले सिनेमामा विभिन्न कुराहरूको व्यवस्थापन र उपलब्धता हुन्छ,’ उनले भने, ‘जबकि त्यही व्यवस्थापनले नाटकमा अर्थ राख्दैन। नाटकमा तपाईँको आँखाले जे देखेको हुन्छ त्यही नै वास्तविकता हो। यो बुझौँ की नाटकमा एउटै मात्र फ्रेमिङ हुन्छ, तपाईँको आँखाको एउटै लेन्सले मात्रै काम गर्छ तर चलचित्रमा लेन्स धेरै हुन्छन्।’

प्रकाश, दृश्य संयोजन, रङ संयोजन, आवाज संयोजनका कामहरू चलचित्रमा मिक्सिङको बेलामा हुने भएकाले कतिपय कुराहरू पछि मिलाउन सकिने भए पनि नाटकमा त्यो नहुने उनले बताए।

नाटकमा डाइलग वा रोल बिर्सिने जोखिम

अभिनयका क्रममा माओत्सेले पनि धेरैपटक ‘डाइलग’ वा ‘रोल’ नै बिर्सिने अनुभव चाखेका छन्। कहिले साथीबाट स्वाद पाएका छन् त कहिले आफ्नै पनि। कलाकारलाई पनि घरपरिवारको चिन्ता, आर्थिक वा व्यक्तिगत व्यवहार, समयको व्यस्तता लगायतका कारण ‘स्पट’ मा जाँदा कलाकारको मनस्थिति सधैँ एउटै हुँदैन। अँध्यारोमा काम गर्दा कहिले ठोक्किएर लड्ने त कहिले माथि भनिएका कारण ले डाइलग नै बिर्सिने समस्या हुने गुरुङले बताए।

तर, त्यो बेलामा को आर्टिस्टहरूले रोल सम्हालिदिन सकेमा दर्शकले पट्यार मान्नुपर्ने अवस्था आउँदैन।

‘मैले बिगारेमा सहकर्मीले सम्हाल्ने र साथीले बिगारेमा मैले सम्हालिदिनुपर्ने हुन्छ।म मात्रै होइन नाटकमा काम गर्ने धेरै कलाकारहरूले यो भोग्नुपर्ने हुन्छ,’ उनले एउटा स्मरण सुनाउँदै भने, ‘२०५६ सालमा मलामी भन्ने नाटक प्रज्ञा प्रतिष्ठानमा भएको महोत्सवमा लगेका थियौँ। मेरो को–आर्टिस्ट राजु याकचा हुनुहुन्थ्यो, उहाँले डाइलग नै उल्टोपाल्टो बोल्नुभएको थियो। म त छक्कै परेँ, मञ्चनको बेलामा स्क्रिप्ट अनुसारका संवाद नै आएनन्। आउट अफ ट्रयाक हुन्छौँ कि जस्तो लाग्यो, अनि मैले बोल्नुपर्ने डाइलगहरू रिपिट गर्दै–गर्दै त्यसलाई बाटोमा ल्याएको थिएँ। यस्ता थुप्रै छन्, जुन सम्झेरै सकिँदैन।’

 पोखरामा थिएटर खुलेपछिको उत्साह

पोखरामा रहेका गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले गरिरहेको कामहरूले गण्डकीमा कला र साहित्यको विकास टेवा पुगेको बताउँदै उनले ती संस्थाहरूको उपस्थिति सन्तोषजनक रहेको बताए।

विद्यालयस्तरीय नाटक, नाटक लेखनसहित नाटकको निर्देशक उत्पादनका लागि तालिम सञ्चालन लगायतका कामहरू भइरहेकोमा उनले खुसी व्यक्त गरे।

‘परिवर्तन भाइको टिमले व्यक्तिगत रूपमा जसरी पोखरा नाटक घर स्थापना गर्नुभएको छ, त्यो अति प्रशंसनीय छ। उहाँहरूले गरेको भन्दा तेब्बर बढी लगानी राज्यले गर्नुपर्छ। कला र संस्कृतिको संवर्द्धन गर्न त्यो खालको वातावरण निर्माण गर्ने काम राज्यको हो,’ माओत्से भन्छन्, ‘केही नाट्यकर्मीहरुले भर्खरै मात्र चरणदास चोर प्रदर्शन गर्नुभएको छ, जसमा दर्शकहरूको उपस्थिति हेर्ने हो भने नाटकमा दर्शकहरूको उपस्थिति कमी छ भन्ने देखिँदैन। युवाहरूको जमातले खाजाको पैसा जोगाएर नाटक देखाउनुभएको छ। यसको अर्थ यो हो कि गण्डकीमा नाटक देखाउने र हेर्नेहरूको कमी छैन।’

नाटकमा लय गुमाएको पोखरा अब लयमा फर्किँदै गरेको तथा काठमाडौं रहेका केही नाट्यकर्मीहरू पोखरा फर्किनुले नाटकका हरेक कुरा पोखरामा सम्भव भएको उनको भनाइ छ।

गण्डकी प्रदेशमा अहिलेसम्म नाटक देखाउनकै लागि निर्माण गरिएको उपयुक्त ‘थिएटर’ नहुँदा आफूहरूले समस्या भोगेको तथा सभागृहमा नाटक देखाउनुपर्ने अवस्था रहेको गुरुङले बताए।

‘उद्योग वाणिज्य सङ्घको हलमा पुगेर समेत नाटक सो गरियो तर ती नाटकका लागि बनाएका मञ्च नै होइनन्। तर, पोखरामा हालै निर्माण भएको गन्धर्व नाटक घरले सबै कुरा सम्भव बनाइदिएको छ,’ उनले भने, ‘नाटक मञ्चनका लागि आवश्यक लाइट, स्टेज, प्लेस त्यहाँ मिलाइएको छ।प्रदर्शनको लागि अब समस्या छैन। नाटक गर्छु भन्ने जमातको कमी छैन, कमी त के मा छ भने कला क्षेत्र पनि गहना हो भनेर राज्यले चिन्नै सकेन, वातावरण निर्माण गर्नै सकेन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.