|

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन्।

इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको खुलासा गरेका हुन्।

सोमबार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले इपिएस प्रणाली पास गरेर बसेकाहरुलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दबाबलाई बेवास्ता गरिरहेको बताए।

मन्त्री श्रेष्ठले इपिएस प्रणाली पास गरेकाहरूलाई आफूले एक हप्ताभित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पारे। उनले त्यसका लागि कोरियाली समकक्षीसँग फोन वार्ताको प्रयास भईरहेको पनि बताए।

मन्त्री श्रेष्ठले आफूले इपिएस प्रणालीबाट पास गरेकाहरूलाई कोरिया पठाउने कामलाई पहिलो प्राथमिकता दिएको पनि पटकपटक दोहोर्‍याए ।

‘असाध्यै सिन्सियर भएर लागेको छु। तपाईंहरु पास हुनुभयो। पास भएपछि मलाई थाहा छ, अघि आफैंले पनि भन्नुभयो, गाउँमा बस्ने अवस्था छैन। कतिपयले त मानसिक औषधि खाने बेला भएको होला। मेरो हातमा हुन्छ भने त म एक हप्तामै सबैलाई उडाइदिउँ भन्ने पक्षमा छु।' उनले भने, तपाईंहरुलाई रोकेर, दायाँबायाँ गरेर सरकारलाई कुनै फाइदा छैन। त्यसकारणले तपाईंहरुले जुन विश्वास गर्नुभएको छ। त्यो विश्वासलाई एकदमै देखिने गरी प्रयास गरिराखेका छौं ।

पीडितहरुले भने तत्काल कोरिया पठाउने व्यवस्था गर्न मन्त्री श्रेष्ठलाई दवाव दिएका थिए। लुम्बिनी प्रदेशकी भावना बस्नेतले तत्काल आफूहरुलाई कोरिया पठाउने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठसँग आग्रह गरिन्। उनले कामदार छनौटमा पनि महिलामाथि विभेद हुने भन्दै त्यसको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्।

बागमती प्रदेशका अनमोल भट्टराईले कोभिड संक्रमण हुन नदिने गरी विदेश जानेहरूलाई बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे। उनले सरकारले आफ्ना नागरिकलाई प्रक्रिया पूरा गरेर पनि विदेश पठाउने काममा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे

भट्टराईले भीडको बीचमा कोभिड परीक्षण गर्नुको कुनै अर्थ नहुने पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.