|

काठमाडौं : धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)माथि आर्थिक अपचलन तथा ठगीको आरोप लागेको छ।

बाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले धुर्मुस-सुन्तलीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।

धुर्मुस-सुन्तली फाउन्डेसनले उक्त आरोपको खण्डन गरेको छ। फाउन्डेसनले आफ्नो फेसबुक पेजमार्फत आफूहरूमाथि लागेका सबै आरोप कपोकल्पित रहेको सोमबार बताएको हो। 

अधिकारीले भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारी अनुदानसमेत अपचलन गरेको भन्दै धुर्मुस-सुन्तलीविरुद्ध अनुसन्धानको माग गरेका थिए।

सरकारी जग्गा र सरकारी अनुदान पनि खर्च भएकाले अनुसन्धान स्वतः आकर्षित हुने र आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारले जनाएको छ। 

धुर्मुस-सुन्तली फाउन्डेसनले ३ वर्षअघि जनस्तरबाट चन्दा उठाइ चितवनमा रहेको कृषि क्याम्पसको जग्गामा रंगशाला निर्माण थालेको थियो।

आर्थिक प्रगतिसम्बन्धमा फाउन्डेसनका तर्फबाट शुरूका दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरीक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन एक/दुई दिनमै उपलब्ध हुने फाउन्डेसनले जनाएको छ। 

उक्त प्रतिवेदन सम्बन्धित पक्षलाई बुझाएर फाइनल भएपछि मात्र परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिने फाउन्डेसनले जानकारी दिएको छ। 

स्वदेश तथा विदेशबाट आएको सहयोगले नै रङ्गशाला निर्माणको काम अहिलेको अवस्थामा आइपुगेको र उक्त रकमको दुरूपयोगबारे आफूहरूले सोच्न पनि नसक्ने फाउन्डेसनले फेसबुकमार्फत जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.