दैनिक पानीको माग ४३ करोड लिटर, आपूर्ति १० करोडमात्रै

|

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुर्‍याएकाे सात महिना भइसके पनि आयोजनाको मर्मत सुरु भएको छैन।

गत असार र साउन महिनामा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुगेको थियो। 

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले उपभोक्ता खटाई सुरुङ जाने अस्थायी बाटो खुलाइसकेको छ। यसबाहेक अरू काम सरकारले अगाडि बढाउन सकेको छैन।

मेलम्ची खानेपानी नआएसँगै काठमाडौं उपत्यकामा अहिले पानीको हाहाकार छ तर सरकार भने मेलम्ची खानेपानी आयोजना मर्मत गर्ने समय सारेको सार्‍यै छ। 
आयोजनाले वर्षाको सिजन सकिएपछि मर्मत गर्ने बताएको थियो।

फेरि आयोजनाले कात्तिक महिनामा तिहार सकिएलगत्तै मर्मत कार्य थाल्ने बतायो तर काम भने सुरु गरेन। खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकाल क्षति भएको ठाउँमा मर्मत कार्य थाल्ने काम अगाडि बढेको बताउँछन्।

‘काम सुरु भएको छैन, अब एक दुई दिनमा मर्मत कार्य सुरु हुन्छ’, उनले भने।

उनले पहिलाकै निर्माण कम्पनी चिनियाँ सिनो हाइड्रो कम्पनीलाई ठेक्का दिन लागेको बताए। 

​इटालियन कम्पनी सिएमसीले योजनाको काम नसकिँदै बीचैमा छाडेको थियो। त्यसपछि चीनको सिनो कम्पनीले २०७६ मा आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्ने ठेक्का पाएको थियो। 

आयोजना सुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आएको थियो।

गत वर्षको चैत १५ देखि उपत्यकामा पानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो। 

तर सुरुङ परीक्षण गर्ने भन्दै असार १ देखि आयोजनाले उपत्यकामा पानी पठाएन। त्यसै दिन बाढीले आयोजनामा क्षति पुर्‍यायो।

आयोजनाका अनुसार बाढीका कारण खानेपानीको हेडवर्क्समा क्षति भएको छ।

सुरुङको करिब २ सय मिटर डाइभर्सन माटोले पुरिएको छ। बाढीले आयोजनामा १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको आयोजनाको आँकलन छ।

क्षतिकाे मर्मत गर्न करिब ९० करोड खर्च लाग्ने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए।

दैनिक पानीको माग ४३ करोड लिटर, आपूर्ति १० करोड मात्रै

मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई केही सहज भएको थियो। यो बन्द भएपछि अहिले फेरि उपत्यकामा पानीको हाहाकार मच्चिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार यतिखेर उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। 

तर अहिले बोरिङ, कुवा लगायतका स्रोतबाट दैनिक १० देखि ११ करोड लिटर मात्रै पानी आपूर्ति भएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए।

केयुकेएलका करिब दुई लाख ग्राहक छन्। अहिले झनै यी स्रोतको पानी घट्दै गएपछि पानी वितरणमा समस्या भएको उनले बताए।

‘मेलम्ची पानी आउँछ भन्ने आशामा छौँ। त्यो वेलासम्म अरू वैकल्पिक स्रोतबाट पानी व्यवस्था गर्ने प्रक्रिया अगाडि बढाएका छौँ’, उनले भने।

मन्त्रालयका प्रवक्ता ढकालले आगामी वैशाख महिनासम्म अस्थायी रूपमा भए पनि पानी ल्याउने सरकारको लक्ष्य रहेको तर्क गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.