|

प्रधानमन्त्रीकप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र पुलिसले प्रतिस्पर्धा गर्ने तय भएको छ।

मंगलबार त्रिवि मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो।

त्यसअघि भएको दिनको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले लोकेश बमको विस्फोटक अर्धशतक र ओपनरद्वय प्रदीप ऐरी र आरिफ शेखको सानदार साझेदारीमा निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३० रनको विशाल स्कोर बनाएको थियो।

प्रदीप र आरिफले पहिलो विकेटका लागि १५० रनको साझेदारी गरेका थिए।

प्रदीप ५३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५७ रनमा अविजित रहँदा आसिफ शेखले ४३ बलमा ८४ रनको सानदार इनिङ खेले।

उनले १० चौका र ५ छक्का हिर्काए। अझ विस्फोटक इनिङ भने लोकेश बमको रह्यो। उनले छक्का वर्षा गरेको खेलमा १८ बलमा ९ छक्का र २ चौकाको सहयोगमा ६६ रनको नटआउट इनिङ खेलेका थिए।

२ सय ३१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको आर्मी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रनमा समेटियो।

आर्मीका लागि राजेश पुलामीले २८ रन बनाउँदा ओपनर भीम सार्कीले ३५ रन बनाए। त्यस्तै हरि चौहानले २२ रन बनाउँदा सुमित श्रेष्ठले २४ रन बनाए।

त्यस्तै विक्रम शोवले १४ रन बनाउँदा सहाव आलमले २१ रन जोडेका थिए। एपिएफका लागि शरद भेषावकरले ३ विकेट लिँदा अविनाश बोहरा र भुवन कार्कीले समान २-२ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.