|

भक्तपुर : भक्तपुर युनाइटेड एफसी भक्तपुर जिल्ला लिग फुटबलको च्याम्पियन बनेको छ।

भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियशनको मैदानमा मंगलबार सम्पन्न फाइनलमा भक्तपुर युनाइटेडले लोकन्थली एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

भक्तपुर युनाइटेडलाई च्याम्पियन बनाउन मनोज लामा र कृष्ण गुरागाईले एक÷एक गोल गरे भने लोकन्थलीका रोहित गिरीले एक गोल फर्काए। खेलको ७ औं मिनेटमा भक्तपुर युनाइटेडले मनोजको गोलले अग्रता लिएको थियो।

लगत्तै कृष्णले खेलको ९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। निक्कै प्रतिष्पर्धात्मक खेलको ७५ औं मिनेटमा पेनाल्टीमार्फत रोहितले गोल गर्दै लोकन्थलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

उपाधि विजेता भक्तपुर युनाइटेडले नगद ५० हजारसहित ट्रफी पाए भने उपविजेता लोकन्थलीले नगद २५ हजारसहित ट्रफी पायो। प्रतियोगितामा लोकन्थलीका रोहित गिरी सर्वोत्कृष्ट खेलाडी घोषित भए।

उनले निष्ट स्कुलले प्रायोजन गरेको नगद १० हजार पुरस्कार पाए। त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर लोकन्थलीका रिजेन हेका, सर्वाधिक ६ गोल गरेका लोकन्थलीकै आशिष थिङ उत्कृष्ट स्कोरर, थिमि युथका समिर श्रेष्ठ उत्कृष्ट रक्षक, भक्तपुर युनाइटेडका हरिश कार्की उत्कृष्ट फरवार्ड र विश्व विनायकका रविन कुटु उत्कृष्ट मिल्डफिल्डर घोषित भए।

उत्कृष्ट सबै खेलाडीले जनही नगद ५/५ हजार पुरस्कार पाए। प्रतियोगिताका विजयी खेलाडी तथा क्लवलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फाको जिल्ला समन्वय समितिका सहसंयोजक एवं मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवे, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष किशोर हेका, वरिष्ठ उपाध्यक्ष अनिल हेका, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबँजा श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.