|

पहिलो पटक टी-२० ढाँचामा भएको प्रधानमन्त्रीकप टी-२० क्रिकेटको उपाधि एपिएफले जितेको छ।

बुधबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै समग्रमा दोस्रोपटक प्रधानमन्त्रीकपको उपाधि जित्न एपिएफ सफल भयो।

प्रतियोगिताको उपाधिका लागि एपिएफले पुलिसलाई १५८ रनको लक्ष्य दिएको थियो। तर पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्रै जोड्न सकेपछि एपिएफ च्याम्पियन बनेको हो।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ६५ रन बनाउँदा उनलाई अन्य कुनै पनि खेलाडीले गतिलो साथ दिएनन्।

उनी बाहेक आरिफ शेखको २३ र अनिल शाहले १० रन थप दोहोरो स्कोरका रूपमा रह्यो। पुलिसका लागि किशोर महतोले ३ विकेट लिँदा अविनाश बोहोरा, अमरसिंह रौटेला र दीपक बोहोराको नाममा समान १-१ विकेट रहेको थियो।

त्यसअघि कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले १ बल बाँकी छँदा अलआउट हुँदै १५७ रन जोडेको थियो।

एपिएफका लागि ओपनिङ जम्न नसके पनि पछिल्लो क्रम क्रिजमा टिक्दा मध्यम स्कोर तयार भएको थियो।

सेमिफाइनलमा विस्फोटक ब्याटिङ गरेका लोकेश बमले फाइनलमा १५ बलमा २७ रन बनाए। त्यस्तै सन्दीप जोराले २४ रन जोड्दा कप्तान शरद भेषावकर १९ रनमा आउट भए।

तर एपिएफलाई नवौं नम्बरमा ब्याटिङका लागि आएका अमरसिंह रौटेलाले मध्यम स्कोरमा पुर्‍याएका थिए।

भुवन कार्कीसँग ८ औँ विकेटका लागि ४२ रनको साझेदारी गरेपछि एपिएफ सम्हालिएको थियो। कार्की १७ रनमा आउट हुँदा रौटेलाले १५ बलमा २९ रन बनाएका थिए।

एपिएफलाई मध्यम स्कोरमा समेट्ने क्रममा दीपेन्द्रसिंह ऐरी र सागर ढकालले ३-३ विकेट लिँदा गुल्सन झाको नाममा २ विकेट रह्यो।

त्यस्तै आरिफ शेख र योगेन्द्रसिंह कार्कीले समान १-१ विकेट ‌लिए। प्रतियोगिताको विजेता बनेको एपिएफले ५ लाख हात पार्दा उपविजेता बनेको पुलिसले ३ लाख नगद प्राप्त गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.