|

सर्लाही : कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रूपमा फैलिएपछि सर्लाही जिल्ला अस्पताल मलंगवामा १७ वटा एचडियु (हाइ डिपेन्डेन्सी युनिट) बेड तयार पारिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका विरामीको उपचारका लागि १७ वटा एचडियु बेड छुट्याएर राखिएको जानकारी दिए।

अस्पतालमा ६५ थान अक्सिजन सिलिन्डर र ४० वटा अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राखिएको अस्पतालका मेसु डा. झाले बताए।

जिल्लामा अहिले तेस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट ३६ जना संक्रमित भएका छन्। उनीहरू सबै होम आइसोलेसनमै छन्।

डा. झाका अनुसार अस्पतालको पुरानो भवनलाई कोभिड वार्डका रूपमा छुट्याइएको छ। अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ।

सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख चन्दन झा समेत कोरोना संक्रमित भई आइसोलेसनमा बसिरहेका छन्।

कोरोना संक्रमण बढेपछि जिल्ला अस्पताल मलंगवामा पिसिआर ल्याब पुनः सञ्चालनमा ल्याइएको छ।

तर लक्षण देखिएका बिरामीले कोरोना संक्रमण परीक्षणमा बेवास्ता गरेकाले ल्याब सञ्चालन गर्न समस्या रहेको अस्पतालले जनाएको छ।

परीक्षणमा बेवास्ता र सडक, बजारमा निस्कँदा मास्क नलगाउने, भीडभाड गर्नेजस्ता लापरवाही गर्नाले कोरोना संक्रमण भित्रभित्रै समुदायस्तरमै फैलिरहेकाले समयमै सचेत रहन आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.