भेरोसेल खोप सकिँदै, 'बुस्टर डोज' नै पाउन मुश्किल

|

काठमाडौं :  कोरोना संक्रमण बढ्न थालेपछि अहिले धेरैको दिनचर्या खोप लगाउन अस्पताल धाउने भएको छ।

एकै पटकमा पुगेर सजिलै खोप लगाउन पाइयो भने ठूलै युद्ध जिते बराबर हुन्छ। त्यसैले यतिवेला खोप लगाउन पनि ‘सोर्सफोर्स’ राम्रै चल्ने गरेको छ। 

‘बुस्टर डोज लगाऊँ भनेर ३ दिन भयो धाएको, कहिले टोकन सकिन्छ, कहिले खोपै सकियो भन्छन्,’ राष्ट्रिय परोपकार तथा प्रसूतिगृह थापाथलीमा बुधबार भेटिएका काठमाडौं बानेश्वरका श्याम पौडेलले भने, ‘सोर्सफोर्स हुनेहरू लाइन नबसी लगाएर जान्छन्।’

२ दिनअघि बानेश्वरको सिभिल अस्पतालमा पनि पुगेका उनी २ घण्टाजति लाइन बसे। तर, पछि ‘टोकन सकियो लाइन नबस्नुहोला’ भनेपछि घर फर्किएको उनले सुनाए।

बुधबार त प्रसूतिगृहमा पुग्नासाथ उनलाई गेटबाटै फर्काउन खोजियो।

'यहाँ गेटमै सुरक्षाकर्मीले खोप सकिइसक्यो भन्दै फर्काउन खोजे तर भित्रबाट खोप लाएर आइरहेका एक जनाले भित्र खोप लगाइरहेको भन्ने जानकारी दिए,' खोप लगाउन नपाएर निराश हुँदै फर्कन लागेका उनले भने, 'चौथो तल्लामा बुस्टर डोज लगाउनेको ठूलै लाइन रहेछ, केहीबेर लाइन बसेपछि भेरोसेल खोप सकिइसक्यो छैन भने, त्यसपछि फर्किँदैछु।'

निस्किँदै गर्दा उनले थपे, 'भ्याइयो भने भोलि फेरि 'ट्राई' गर्नुपर्ला।’

उनीमात्र होइन खोप लगाउन पाइन्छ कि भनेर उनले भनेजस्तै 'ट्राई' गर्नेहरू असंख्य छन्। खोप लगाउने भनिएका सबै अस्पतालमा निकै ठूलो भीड लागिरहेको छ।

अस्पताललाई ‘प्रसाद’जस्तै खोप

जिल्ला स्वास्थ्य कार्यालयले हरेक अस्पताललाई दैनिक खोप वितरण गर्छ, तर ‘प्रसाद’ जस्तो।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले अस्पतालको क्षमता हेरेर दैनिक १ सयदेखि ५ सय मात्रा खोप दिने गरिएको बताए। 

अस्पतालका कर्मचारीका आफन्त, चिनेजानेका र भनसुन गरी लाइन नबसी लगाउनेलाई पनि खोपको त्यही परिमाणबाट व्यवस्थापन हुने गर्छ।

यसले गर्दा लाइन बस्ने सर्वसाधारण अन्तिममा खोपै नलगाइ फर्कन बाध्य छन्। 

सिभिल अस्पताल बानेश्वरमा खोप लगाउनेको भिड।

आपूर्ति व्यवस्थापन विभागबाटै खोप वितरण गरिने मात्रा थोरै गराइएकाले अस्पताललाई मागेजति दिन नसकिएको प्रमुख काफ्लेले बताए। 

काठमाडौंका झण्डै दुई दर्जन खोप केन्द्रलाई आज (बुधबार) ३ थरी खोपको जम्मा २१ हजार मात्रा मात्र वितरण गरिएको छ।

काफ्लेका अनुसार कोभिशिल्ड ९ हजार, जोन्सन एन्ड जोन्सन ८ हजार र भेरोसेल खोपको ४ हजार मात्रा वितरण गरिएको हो। 

‘हामीले पनि विभागबाट ल्याएर अस्पतालहरूलाई वितरण गर्ने हो’, काफ्लेले थाहा खबरसँग भने, ‘हामीलाई नै अहिले खोप कम आइरहेकाले अस्पतालहरूले मागेजति दिन सकेका छैनौं।’

सरकारले खोपको अभाव छैन भनेर दिनरात फलाकिरहेको भएपनि खोप लगाउन सर्वसाधारणले भोगिरहेको सास्तीलाई 'देखेको नदेखै' गरेको स्पष्टै देखिन्छ। 

‘आज (बुधबार) भेरोसेल जम्मा २ सय, जोन्सन र कोभिशिल्ड ५/५ सय डोजमात्र आएको थियो’, प्रसूति अस्पतालको खोप लगाउने लाइन व्यवस्थापन गर्न खटिएकी एक कर्मचारीले उल्टै प्रश्न गरिन्, ‘सरकारले खोप नै नदिएपछि हामीले कसरी लगाउने?’

अब भेरोसेल पाउनै गाह्रो

कोभिडविरुद्ध भेरोसेल खोप सकिन लागेको छ। भण्डारमै रित्तिन थालेपछि बुस्टर मात्र दिइएको भेरोसेल अब एक/दुई दिनमै सकिने अवस्थामा पुगेको हो।

जिल्ला स्वास्थ्य कार्यालयका काठमाडौंका प्रमुख काफ्लेले अहिले पहिलो मात्रा लगाउनेलाई भेरोसेल नदिन सर्कुलर नै गरिएको बताए।

'पहिलो डोज लगाउनेलाई भेरोसेल नदिन हामीले सर्कुलर नै गरेका छौं, बुस्टर डोज पनि नपुग्ने अवस्था देखिएको छ,' काफ्लेले भने, 'भोलि (बिहीबार) सम्म एक/दुई सय मात्रा दिन पुग्ला, पर्सीदेखि त दिन गाह्रो छ।’

सरकारले माघ १४ गतेदेखि ६० वर्ष माथिकालाई बुस्टरका रुपमा भेरोसेल दिने भनिएको छ। तर खोप सकिने अवस्था भएकाले तोकिएकै समयमा ज्येष्ठ नागरिकले बुस्टर मात्रा लगाउन नपाउने सम्भावना बढेको छ। 

अस्पतालका आ–आफ्नै नियम

जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गरेर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाउन सकिने भनेको छ।

त्यही सूचना हेरेर आफ्नो पायकपर्ने केन्द्र र समयमा खोप लगाउन जाने हो भने दिनहुँ धाउँदा पनि खोप लगाउन मुश्किल छ।

धेरैजसो केन्द्रमा ११ नबज्दै खोप सकिइसक्छ। केही ठाउँमा गेटबाटै छिर्न दिँदैनन्।

कतिपयले व्यवस्थापनका नाममा आ–आफ्नै नियम लगाएका छन्। 

केही अस्पतालले लाइन बस्नेलाई लगाइरहेका छन्। केहीले खोप लिनु पहिले टोकन लिनुपर्ने नियम बनाएका छन्।

केहीले खोप लगाउन इच्छुक भएको भनी अनलाइनमा इन्ट्री गरेको नम्बर अनिवार्य भनेका छन्। कतिपयले त्यो नहेरी पनि लगाइरहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख काफ्लेले आफूहरूले यसलाई बाध्यकारी नगरेकाे बताए।

खोप केन्द्र नै 'हटस्पट' बन्ने खतरा!

नर्भिक अस्पताल थापाथलीमा खोप लगाउनेको भिड।

सरकारले २५ जनाभन्दा बढी एकैठाउँमा भेला हुन रोक लगाएको छ।

फिल्म हल, रात्रि क्लब, डान्सबार र दोहोरीलगायत मनोरञ्जनात्मक व्यवसाय त पूर्णरुपमा बन्द नै गरेको छ।

तर यही नियमलाई खोप केन्द्र अगाडिको भिडले गिज्याइरहेको छ। 

सयौं मानिस खोप लगाउन भिडमा छन्। न भौतिक दूरी, न सेनिटाइजरको व्यवस्था।

‘यहि भीडबाट कोरोना सर्ने डर भइसक्यो’, सिभिल अस्पतालमा खोप लगाउने लाइनमा भेटिएका काठमाडौं कपनका बसन्त अर्याल भन्छन्, ‘सरकार २५ जनाभन्दा बढी भेला हुन रोक लगाउँछ, यहाँको भीड २५ सयभन्दा धेरै छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.