|
बुधबार राजधानी तोक्योमा सडक पार गर्दै जापानी। तस्वीर : एपी

तोक्यो : जापान सरकारले कोरोना भाइरसको ‘ओमिक्रोन’ स्वरूपका कारण सङ्क्रमण बढ्दै गएपछि तोक्यो लगायत १० भन्दा बढी क्षेत्रमा शुक्रबारदेखि नयाँ प्रतिबन्ध लगाउने भएको छ।

यो अवधिमा स्थानीय अधिकारीले भोजनालय खोल्ने समय घटाउन सक्छन्।

अर्थव्यवस्था पुनरुद्धारमन्त्री दाइशिरो यामागिवाले सरकारद्वारा गठित विज्ञहरूको टोलीले बुधबार १३ क्षेत्रमा फेब्रुअरी १३ तारिखसम्म नयाँ प्रतिबन्ध लागू गर्ने योजना स्वीकृत गरेको बताए।​ यामागिवा जापान सरकारको कोरोना प्रतिरोधात्मक निकायका प्रमुख हुन्।

तीव्र गतिमा बढ्दो संक्रमणले अस्पताल, विद्यालय र अन्य क्षेत्रलाई निकै असर गरेको छ।

जापानले महामारीविरूद्ध लड्न लक डाउनको विरोध गर्दै आएको छ। यसको साटो रेस्टुराँ र बारमा मदिरा सेवन नगर्ने र तिनीहरू चाँडै बन्द गर्ने उपाय अपनाएको छ।

साथै सरकारले अर्थतन्त्रमा पर्ने क्षति नपुगोस् भनी मास्क लगाउन र भौतिक दूरी कायम गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सेप्टेम्बरमा संक्रमणका घटना कम भएपछि जापानले विस्तारै सामाजिक र व्यावसायिक गतिविधिहरू खुला गरेको थियो। 

तोक्योका गभर्नर युरिको कोइकेलगायत धेरै स्थानीय गभर्नरहरूको अनुरोधपछि जापानी सरकारले यो कदम चालेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा बुधबार ३२ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। तीमध्ये तोक्योमा ७ हजार ३७७ जनामा ​​संक्रमण देखिएको छ।

जापानमा हालसम्म १९ लाख ३० हजारमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ भने सङ्क्रमणका कारण १८ हजार ४ सयको मृत्यु भएको छ। हाल १ लाख ३४ हजारभन्दा बढी संक्रमित अस्पतालमा भर्ना छन्।

-एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.