|

कञ्चनपुर : भीमदत्त नगरपालिकाका १६ जना कर्मचारीमा कोरोनाको संक्रमण देखापरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्।

नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नगर प्रहरी, दमकल, अग्निनियन्त्रक, एम्बुलेन्स सेवा, सरसफाइ र आधारभूत स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको जनाएको छ।

सूचनामा माघ ६ गतेदेखि १० गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ।

‘नगरपालिकाका कर्मचारी तथा नागरिकमाझ ठूलो संख्यामा कोरोनाको संक्रमण पुष्टि भएको छ’, सूचनामा भनिएको छ, ‘कोरोनाको थप संक्रमण नफैलियोस् भन्ने कुरालाई ध्यानमा राख्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।’

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आज मात्रै कञ्चनपुरमा १८२ जना कोरोनाका नयाँ विरामी फेला परेका छन्।

भीमदत्त नगरपालिकामा ६०, दोधारा चाँदनी नगरपालिकामा ९, वेदकोट नगरपालिकामा १२, शुक्लाफाँटा नगरपालिकामा ४, कृष्णपुर नगरपालिकामा १, पुनर्वास नगरपालिकामा १०, बेलौरी नगरपालिकामा ५ र सीमा नाका गड्डाचौकी हुँदै भारतबाट आएका ८१ जनामा कोरोनाको संक्रमण देखिएको छ।

सक्रिय कोरोनाका विरामीको संख्या ६३५ पुगेको छ। अस्पतालको आइसोलेसनमा २२ जना र ६१३ जनाको होम आइसोलेसनमा बसेर उपचार भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.