|

जाजरकोट : जिल्लाको छेडागाड नगरपालिका वडा नं ६ का वडाध्यक्षलाई विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले मोसोसहित जुत्ताको माला लगाएको छ।

वडाध्यक्ष रामबहादुर केसीलाई मोसो र जुत्ताको माला लगाएको हो। सिंगो विद्यार्थी र जनताको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै गलतविरुद्ध खबरदारी मात्र भएको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले बताए।

यस्तै अखिल क्रान्तिकारी जाजरकोटले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै जनविकास माध्यमिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको, अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरोन्नतिमा ५ लाख रुपैयाँ हिनामिना गरेको, कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको, बाहुन गाउँदेखि अफ्गान खानेपानी योजनाबाट २५ लाख रुपैयाँ हिनामिना गरेको, स्वास्थ्यचौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, जेवा खानेपानी योजनाबाट ७ लाख रुपैयाँ हिनामिना गरेको, विकास योजनाका लागि दिएको बजेट दुरुपयोग गरेको आरोप लगाएको छ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले घटनाको विषयमा प्रहरीसमक्ष कुनै जानकारी नआएको बताए।

उनले भने, ‘पीडित पक्षबाट कुनै जानकारी आएको छैन, यदि आयो भने हामी प्रक्रिया अघि बढाई मोसो दल्नेहरूको खोजी गर्छौं, उनीहरूलाई कारबाही गर्छौं।’

नेकपा एमालेले विज्ञप्ति जारी गर्दै मोसो दल्नु गलत भएको भन्दै इमान्दार, कर्तव्यनिष्ठ वडाध्यक्षमाथि भएको यस्तो कार्यको घोर भर्त्सना गरेको छ। विद्यार्थीले लगाएको आरोप सरासर गलत भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.