|

काठमाडौं : नेपाली सेनाले अनुशासनहीन काम गरेको भन्दै एक जना सेनानी (मेजर)लाई सेवाबाटै बर्खास्त गरेको छ। 

सैनिक अदालतले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको हो। मादक पदार्थ सेवन गरेर हतियारसहित सैनिक ब्यारेकबाट निस्किएका शाही गत कात्तिक २१ गते कैलालीको चिसापानीको होटल संगममा शाही र होटलसञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो।

रातको ११ बजे संगम होटलमा पुगेका मेजरले पछि ब्यारेक फर्किएर गेटमा ड्युटी गरिरहेका सैनिकलाई समेत हतियारसहित लिएर गएका थिए। उनी पुनः होटलमा पुगेपछि घटना थप चर्किएको थियो।

सुरुमा ग्राहकसँग झगडा गरेका शाही पछि ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न पुगेका थिए।  उनलाई सैनिक आचरण विपरित काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

सेनाले यस घटनाको अनुसन्धानका लागि २५ बाहीनीकै महासेनानीको कमाण्डमा तत्काल कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो। कोर्ट अफ इन्क्वायरी टिमले स्थानिय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुत प्रमाण र मेजर शाहीको बयानपछि आफ्नो प्रतिवेदन बुझाएको थियो।

प्रहरी र स्थानियले कोर्ट अफ इन्क्वायरी मेजर शाहीले घटनाका दिन राति सर्वसाधारणमाथि हतियार तेर्साएपछि उनीमाथि कुटपिट भएको बताएका छन् । प्रहरीले उनलाई जोगाएर कार्यालयमा लैजानुका साथै सेनाको जिम्मा लगाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.