|

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले रुपचन्द्र विष्टको 'थाहा दर्शन'लाई जीवन्त बनाउन विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।

नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई विद्यालयमा पढाउने भएको भएको हो।

विष्टको थाहा दर्शनलाई ‘थाहा ज्ञानमाला’ को रुपमा विद्यालयको पाठ्यक्रम तयार पारिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर लवशेर विष्टको अनुसार नगरपालिकाले दुई चरणमा गरी पाठ्यक्रम लागू गर्ने गरी योजना बनाएको छ।

पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु गर्ने र दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागू गर्ने उनले जानकारी दिए। त्यसका लागि नगरपालिकाले १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पारिसकेको छ।

१ देखि ५ कक्षासम्मको पाठ्यक्रम तयार भएर पाठ्यपुस्तक छपाइको अन्तिम तयारी भइरहेको नगर प्रमुख विष्टले बताए। यता ६ देखि ८ कक्षाको हकमा भने पाठ्यक्रम मात्र निर्माण गरिएको उनले बताए।

रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाएपछि विद्यार्थीहरूमा व्यावहारिक ज्ञान, लगनशीलता र इमानदारी वृद्धि हुने विश्वास लिएको उनले सुनाए। कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा दार्शनिक रुपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारी मात्र समावेश गरिएको छ।

ती कक्षाका बालबालिकाका लागि आवश्यक र बुझ्न सक्ने प्रकृतिको पाठ्य सामग्रीहरू समावेश गरिएको उनले जानकारी दिए। उनको अनुसार रुपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजनाअनुसार सामान्य जानकारी पुस्तकमा समावेश गरिएको हो।

त्यस्तै, ती कक्षाका विद्यार्थीले रुपचन्द्र विष्टका समाज सुधारका सूचकका बारेमा पनि पुस्तकबाट सिक्न सक्नेछन्। शिक्षामा विपन्न बालबालिकाको पहुँच पुर्‍यायाउन रुपचन्द्र विष्टले गरेका योगदान, समाज सुधारका लागि आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रका योगदानबारे पुस्तकमा समावेश गरिएको छ।

त्यस्तै, पुस्तकामा थाहा नगरपालिकाको नामकरणबारेका जानकारी समावेश गरिएको छ। थाहा नगरपालिका क्षेत्रको भौगोलिक अवस्था, खोला, नाला, बोटविरुवा र हावापानीको विषय पनि पुस्तकमा समावेश गरिएको छ।

मेयर विष्टले रुपचन्द्र विष्टको ‘थाहा दर्शन’लाई पाठ्यपुस्तकमा समावेश गर्न विभिन्न समयमा गोष्ठी र छलफलपछि पठ्यक्रमको विषयमा निर्णय भएको बताए। स्थानीय पाठ्यक्रम र ‘थाहा अभियान’लाई समेटर पाठ्यक्रम निर्माण गरिएको उनको भनाइ छ।

सुरुवाती चरणमा ‘थाहा अभियान’का बारेमा मानिसहरुले भनेको सुन्नुबाहेक अन्य कुनै पनि दस्तावेज नगरपालिकासँग नभएकाले थुप्रै असहजता व्यहोर्नु परेको उनले बताए।

नगरपालिकाबाट पाठ्यक्रम निर्माणको लागि छुट्टै टिम नै खडा गरेर सो बारे अध्ययन, अनुसन्धान गरेर केही जानकारी संकलन गरेपछि भने अलि सहज भएको उनी बताउँछन्। रुपचन्द्र विष्टसँग संगत गरेका मानिसहरुले बोलेको कुरा सुनेर, विभिन्न सन्दर्भ सामग्री जुटाएर पाठ्यक्रम तयार पारिएको उनले बताए।

पठनपाठनका लागि बालबालिकाको उमेर समूह अनुसारको सरल र मिठो भाषा पनि आवश्यक पर्ने भएकाले भाषा छनोटमा पनि केही समय खर्च गरेको उनको भनाइ छ। कक्षा अनुसारको विद्यार्थी र उनीहरुले बुझ्ने प्रकृतिको भाषा छनोट समान्य कुरा नभएको उनको भनाइ छ। भाषा छनोटको काम सम्पन्न भएपछि भने पाठ्यक्रमलाई लिपिवद्ध गर्न सफल भएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.