मापदण्ड पालना नभए परीक्षा रोक्नू : प्रधानमन्त्री देउवा

|

काठमाडौं : कोरोना संक्रमण तीब्र बन्दै गएपछि काठमाडौं विश्वविद्यालय(केयु)ले नियमित परीक्षा स्थगित गरेको छ। केयुका सह-प्रवक्ता डा.उद्धव प्याकुरेलले नियमित परीक्षा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए। ​

माघ २ गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको हो। अहिले विश्वविद्यालयहरूले धमाधम स्नातक तहको परीक्षा लिइरहेका छन्। 

तर आवश्यक मापदण्ड पालना नभएको विद्यार्थीले गुनासो गरिरहेका छन्। 

बुधबार नयाँ बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा कोरोना संक्रमित र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै विद्यार्थी र प्रहरीबीच झडप नै भयो। 

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दा बीए एलएलबीको चौथो वर्षका केही विद्यार्थी घाइते भए। त्यसपछि उनीहरुले नाराबाजी गरे। 

मंगलबार पनि पुतलीसडकस्थित हिमालयन ह्वाइट हाउस कलेजमा पनि संक्रमित र संक्रमित नभएका विद्यार्थीलाई एकै ठाउँमा राखेर परीक्षा लिइएको भन्दै विद्यार्थीहरुले विरोध गरे। 

नेपालमा पछिल्लो समय ह्‍वात्तै देशभर कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। गत मंगलबार १० हजार दुई सय ५८ जना नयाँ संक्रमित भेटिए। बुधबार मात्रै ११ हजार ३ सय ५२ जनामा संक्रमित भेटिएको छ। तर, पनि त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले परीक्षा लिन छाडेको छैन।

सरकारले विद्यालय र विश्वविद्यालयको भौतिक उपस्थितिको पठनपाठन माघ १५ सम्म बन्द गरिसकेको छ।

तर,परीक्षा भने रोक्न सकेको छैन। एकातर्फ कोरोना बढिरहेको बेला त्रिवि धमाधम परीक्षा तालिका सार्वजनिक गरिरहेको छ। विज्ञान संकायको फिजिक्स चौथो वर्षको परीक्षा माघ ५ गतेबाट सञ्चालन भइरहेको छ। एलएलबी तेस्रो वर्षको परीक्षा भने यही माघ १० गते सञ्चालन हुँदै छ।  

परीक्षा रोकेर उपयुक्त समयमा लिनुपर्ने विद्यार्थीको माग 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) ले पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्ने भनेको छ। तर,यी मापदण्ड अनुसार कलेजहरुले परीक्षा लिएका छैनन्।

ज्यान भन्दा परीक्षा ठुलो नभएको भन्दै एलएलबी तेस्रो वर्षका परीक्षार्थीले सामाजिक संजालमा त्रिवि परीक्षा नियन्त्रकको नम्बर नै राखेर विरोध गर्न थालेका छन्।  दिनेश अधिकारीले यस्तो विषम परिस्थितिमा परीक्षा नलिई केहि हप्ता वा महिनापछि लिन धेरैले आग्रह गरेको बताए।

उनले एलएलबी नेपाल ल क्याम्पस पेजमा लेखेका छन्,‘एक महिना पछाडी परीक्षा सार्दा हामी एक बर्ष पछि पर्दैनौँ,काठमाडौ आज सुनसान छ,कार्यालयहरूमा चहलपहल देखिन छाडेको छ, आफुलाई सुबिधा हुने साथीहरू परीक्षा  हुनुपर्छ भन्दै  हुनुहुन्छ, तर अरुको समस्या के छ उहाँहरूलाई थाहा नहुन सक्छ, ओमिक्रोन धेरै छिटो सर्ने भाइरस भनेर जनस्वास्थ्य विज्ञहरुले भनिरहनु भएको छ।’

संक्रमितलाई छुट्टै कोठामा राखेर परीक्षा लिने भनिएपनि संक्रमित परीक्षार्थी परीक्षा केन्द्रसम्म जान सक्ने अवस्थामा छ कि छैन भन्ने ख्याल नगरिएको विद्यार्थीको गुनासो छ। अर्कोतर्फ आइसोलेसनमा बस्नुपर्ने संक्रमित सार्वजनिक सवारी चढेर परीक्षा दिन जाँदा उसले संक्रमण फैलाउनसक्ने जोखिमलाई नजरअन्दाज गरिएको उनीहरुको भनाई छ। 

 

रञ्जित कुमारले पनि परीक्षा सानुपर्ने माग गरेका छन्। ‘अहिलेको परिस्थितिमा परीक्षा सार्दा राम्रो हुन्छ,हजारौँको संख्यामा अहिले विद्यार्थीहरु संक्रमित छन् होला,सबैको अबस्था एकनासको छैन,संक्रमित भइसकेपछि मानसिकता नै परिवर्तन हुन्छ,मनोबल घट्छ गिर्छन्,कति थला परेर बसेका छन,यस्तो अबस्थामा परीक्षा कसरी दिन्छन्?,’उनले भनेका छन्। 

अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ।

मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९का मापदण्ड पालना भए/नभएको अनुगमन गर्न उनले निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले परीक्षा हलमा कोभिड–१९ का मापदण्ड नभएको पाइएका केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन मुख्यसचिव बैरागीलाई निर्देशन गरेका छन्।

वैकल्पिक उपायबाट परीक्षा लिनू : आयोग 

राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग वैकल्पिक उपायबाट त्रिविको परीक्षा लिन माग गरेको छ। 

‘संक्रामक रोगको महामारी भएको अवस्थामा नागरिकको जीवन रक्षा गर्न राज्यको दायित्व हुन्छ,नेपालको संविधानले स्वास्थ्य तथा शिक्षासम्बन्धी हकलाई मौलिक हकको रुपमा उल्लेख गरेको सन्दर्भमा नागरिकको दुवै हकको सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्छ,’ बुधबार आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्रिवि अझै 'पर्ख र हेर' मा

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले केही दिनको संक्रमण अवस्था हेरेर परीक्षाबारे निर्णय लिने बताए। ‘संक्रमण दर बढ्दै गएको छ,अब आज र भोलिको अवस्थालाई हेरेर थप निर्णय हुन्छ,’उनले थाहाखबरसँग भने।

परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर नै सञ्चालन गरिरहेको उनको भनाई छ। त्रिवि कार्यालयमा कोही परीक्षार्थी परीक्षा रोक्ने र कोही सञ्चालन गर्न माग गर्दै आएपछि अन्योलता पनि भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.