|
जिल्ला प्रशासन कार्यालय दैलेखमा खोपसँगै सेवा लिँदै गरेका नागरिक ।

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कार्यालय परिसरमै कोरोना विरुद्धको खोप अभियान चलाएको छ।

सरकारले सार्वजनिक स्थानमा सेवा लिन आउने सेवाग्राहीलाई अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरेपछि दैलेख प्रशासनले नागरिकहरू सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले कार्यालयमै खोप अभियान सञ्चालन गरेको हो।

पुस २८ गतेबाट कार्यालयमै सञ्चालन गरेको खोप अभियानबाट हालसम्म १ हजार १ सय ९५ जना सेवाग्राहीहरूलाई कोरोना विरुद्धको खोप दिइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

मन्त्रालयको निर्देशनअनुसार कर्णालीका १० जिल्लामध्ये दैलेख प्रशासनले मात्र हाल कार्यालयमै खोप अभियान सञ्चालनमा ल्याएको प्याकुरेलको भनाइ छ।

‘हामीले कति दिन बन्द गरिरहने सबैलाई खोपको सुनिश्चितता भइसकेपछि स्मार्ट लकडाउन जस्ता कुरा अनिवार्य नहुने भएकाले बढीभन्दा बढी नागरिकले खोप पाऊन् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौँ’ उनले भने।

प्रशासनमा सेवा लिन आउने नागरिकलाई जनस्वास्थ्यको समन्वयमा प्रशासन परिसरभित्रै कोरोना खोप सेन्टर सञ्चालनमा रहेको र खोप लगाउने नागरिकले खोप कार्ड बुझेपछि सेवा लिएर जाने गरेकका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले थाहाखबरलाई बताए। उनले अझै पनि दैलेखमा स्थानीय सरकारले खोप अभियानमा तदारुकता देखाउनुपर्ने सुनाए।

यस्तै, जिल्ला प्रहरी कार्यालय दैलेखले तपाईँको मास्क खै? अभियानलाई तीव्रता दिएको छ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलँदै गएकाले नागरिकहरूलाई यसको संक्रमबाट जोगिन मद्दत पुगोस् भन्ने उद्देश्यले मास्क खै? अभियानलाई जिल्लाभर तीव्रता दिएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.