|

पर्वत : बिहीबारदेखि पोखरा रङ्गशालामा सुरु भएको २०औँ संस्करणको आहा–रारा गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली एपिएफले आयोजक सहारा क्लबलाई २–० ले पराजित गरेको छ।

बिहीबार दिउँसो भएको खेलमा एपिएफका लागि खेलको १४औँ मिनेटमा आभास लामिछानेले सुरुवाती गोल गरेका थिए। एपिएफले दोस्रो गोल भने दोस्रो हाफमा गरेको थियो। खोलको ६०औँ मिनेटमा प्रदीप लामाले दोस्रो गोल गरेका थिए।

यससँगै एपिएफले क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ। प्रतिस्पर्धामा आयोजक सहाराले गोल गर्ने अवसर पाएको भए पनि गोल गर्न भने सकेन।

खेल तालिकाअनुसार आजको विजेता एपिएफले आउँदो माघ आठ गते क्वार्टर फाइनलको खेलमा अमेरिकाको टोली बिवाइएसी मिनेसोटाविरुद्ध खेल्ने आयोजक सहारा क्लबका उपाध्यक्ष केशव बरालले जानकारी दिए। बिहीबारको खेलमा म्यान अफ दी म्याच एपिएफका नवीन लामा बनेका छन्।

खेलका लागि क्याप्टेन समेत रहेका उनले नगद आठ हजार सहित ट्रफी पनि पाएका छन्।

यसअघिका संस्करणमा जस्तै यसपटक पनि प्रतियोगितामा साबिक विजेता सङ्कटा क्लबसहित नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, एपीएफ, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी, सहारा क्लब र बिवाइएसी मिनेसोटा यूएसए गरी दस टोलीले प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगितामा शुक्रबार हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच खेल हुँदै छ। प्रतियोगिताको विजेता समूहले १० लाख एक हजार रुपैयाँ नगद राशि पुरस्कार स्वरूप पाउनेछ।

२०५८ फागुन ७ गते पहिलोपटक यो खेलको पहिलो संस्करण आयोजना गरिएको थियो। पछिल्ला संस्करणहरूमा हिमश्री फुड्सको उत्पादन ‘आहा’ र ‘रारा’ चाउचाउले प्रायोजन गरेपछि गोल्डकपको नाम ‘आहा–रारा गोल्डकप’ बनाइएको हो। पहिलो संस्करणको नाम भने क्याराभान गोल्डकप राखिएको थियो।

विष्टलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी२०७८ बाट सम्मान

गोल्डकपको उद्घाटन खेल सुरु हुनु पूर्व आयोजना गरिएको कार्यक्रममा फुटबलका राष्ट्रिय खेलाडी अञ्जन विष्टलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी–२०७८ बाट पुरस्कृत गरिएको छ। बिष्टलाई आहा–रारा गोल्डकपकै आयोजक सहारा क्लबले उक्त सम्मान सहित पुरस्कार प्रदान गरेको हो।

कार्यक्रममा सहभागी भएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिष्टलाई नगद ३५ हजार रुपैयाँसहित सम्मान गरेका हुन्। राष्ट्रको प्रतिनिधित्व गरी खेल्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट खेल प्रदर्शन गरेकोले उनलाई पुरस्कृत गरिएको हो।

सोही अवसरमा आहा–रारा गोल्डकपको २० वर्षसम्मको इतिहासको बारेमा पुस्तक लेखेका कान्तिपुरकर्मी हिमेशरत्न बज्राचार्यलाई पनि ‘विशेष सम्मान’ प्रदान गरिएको छ। उक्त पुस्तकको विमोचन एन्फा अध्यक्ष शेर्पाले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.