|

खोटाङ : खोटाङमा जबरजस्ती करणीका छुट्टाछुट्टै कसुरमा एक सातामा नै ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ, सोही नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई र  रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल रहेका छन्।

प्रकाशले पुस २५ गते बेलुका ५ बजे दोर्पा चिउरीडाँडाकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ।

छिमेकीको घरमा पितृ कार्य (श्राद्ध) को निम्तो मानेर घर फर्कँदै गर्दा एक्लै भएको मौका छोपेर डरधम्की देखाई करणी गरेको भन्दै परेको जाहेरीका आधारमा उनी बुधबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले खोजतलास गर्दा लुकिछिपी बसेका उनलाई दोर्पा चिउरीडाँडाबाटै पक्राउ गरेको हो।

अर्का आरोपी धनकाजीले पुस ३० गते बिहान ११ बजे पाथेकाकै एक ४० वर्षीया महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती करणी गरेको आरोप छ।

जबरजस्ती गरेको भनी टेलिफोनबाट प्रहरी चौकी तालखर्कलाई प्राप्त जानकारीका आधारमा प्रहरीले उनलाई मंगलबार पाथेकाबाटै पक्राउ गरेको हो।

अर्का आरोपी किशोरले खार्पाकी एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।

गत भदौ ९ गतेयता उनले पटकपटक बालिकालाई जबरजस्ती करणी गरेको भन्दै बिहीबार परिवारले दिएको जाहेरीका आधारमा उनलाई उदयपुरको रामपुरबाट शुक्रबार पक्राउ गरिएको हो।

पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.