|

पोखरा : पोखरामा आज शुरु भएको २० औं आहा-रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपिएफले विजयी यात्रा शुरु गरेको छ। 

दर्शक नराखी भएको खेलमा एपिएफको जितका लागि आवास लामिछाने र प्रदीप लामाले १/१ गोल गरे।

खेलको १३ औं मिनेटमा आवास लामिछानेले पहिलो गोल गर्दै खेलमा एपिएफलाई अग्रता दिलाएका थिए।

युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बने।

खेलको शुरूवातमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय सहारा दबाबमा रह्यो।

निर्धारित पहिलो हाफमा १–० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको पनि शुरुआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो।

खेलको दोस्रो हाफ ५९ औं मिनेटमा एपिएफका शनिष श्रेष्ठको लामो पासलाई नियन्त्रणमा लिएर प्रदीप लामाले प्रहार गरेको बल दोस्रो गोलमा परिणत भएको थियो।

लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन्।

मोफसलकै चर्चित फुटबल प्रतियोगिताका रुपमा लिइएको आहा-रारा गोल्डकपको यस वर्षको संस्करण दर्शकबिना नै भइरहेको छ।

कोरोना महामारीका कारण प्रशासनले भीडभाड गर्न रोकेकाले दर्शकबिनै प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको दोस्रो खेल भोलि हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ।

१० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप–विजेताले ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.