म्याग्दी : राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ।
गण्डकी प्रदेशको लाइफलाइन कालीगण्डकी कोरिडोर अन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–७ महभीर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न दैनिक दुई चरणमा सडक बन्द गरिने बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए। उनका अनुसार माघ १० देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने छ।
महभीर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा बिस्तार एवं स्तरोन्नति गर्नका लागि सडक बन्द गर्नुपरेको प्रमुख प्रजापतिको भनाइ छ। सडक बन्द हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लामा आवतजावतमा समस्या हुनेछ।
२०७४ सालमा सुरु भएको चीन कोरला नाका जोड्ने सडक निर्माण गर्न ७ अर्ब २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बाग्लुङ र पवर्तको सिमानामा रहेको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ। महभीर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्रे गर्न शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको थियो।
१९ किलोमिटर दूरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाटदेखि बेगखोलासम्मको ६ किलोमिटर सडकमा गत जेठमा डिबिएसडी प्रविधिको कालोपत्रे सुरु भएको थियो। बेगखोलादेखि नारच्याङ पुल खण्डको अधिकांश भागमा पनि बिस्तार, पर्खाल र नाली निर्माणको काम सकिएको छ। आगामी चैतभित्र कालोपत्रे गर्ने तयारीसहित कतिपय ठाउँमा सब बेस राखिएको छ।
सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरमा १.२ किमी सडक बिस्तारका लागि डोजरको सहायताले मात्रै ट्रयाक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोगले भीर फुटाउन ६० टन विष्फोटक पदार्थको प्रयोग गरिने भएकाले उक्त क्षेत्रमा समेत अर्को कार्यतालिक बनाएर सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।