७ हजार ६ सय किलो तयारी माल प्रहरी नियन्त्रणमा

|

काठमाडौं :  नरबहादुर श्रेष्ठले सात वर्ष अगाडिदेखि श्रीमती रश्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी महका नाउँमा नक्कली एवं गुणस्तरहीन लेदो बनाई बिक्री वितरण गर्दै आएका नरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ स्थायी घर भएका श्रेष्ठले  काठमाडौं महानगरपालिका-२७ ज्याठामा यस्तो ‘मह’ उत्पादन गर्थे।  उनले गुणस्तरहीन अखाद्य लेदो ‘मह’ काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरूमा थोक तथा खुद्रा बिक्रीबाट राम्रै आम्दानी गरिरहेका थिए। 

तर, महको नाउँ दिएर गुणस्तरहीन लेदो व्यापारमा लागेका उनी अन्ततः प्रहरी हिरासतमा पुगेका छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानमा श्रेष्ठले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए। उनले भने‚ ‘मह बनाउनका लागि प्रयोग गरिने विभिन्न प्रकारका सामग्री, मेसिन, रसायन केमिकल र गुणस्तरहीन ७ हजार ६०० किलो तयारी तथा कच्चा मह जस्तो देखिने लेदो समेत बरामद गरेका छौं।'

प्रहरीले विशेष सूचनाका आधारमा ‘अपरेशन हनी’ गरी उनलाई पक्राउ गरेको हो। उनले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन 'मह' बनाई प्रतिकिलो ६५० रुपैयाँमा बेच्दै आएको प्रहरी उपरीक्षक पंगेनीले जानकारी दिए।

श्रेष्ठले गुणस्तरहीन मह जस्तो गुलियो लेदो बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरी उपरीक्षक पंगेनीले भने‚ ‘उक्त स्पर्स हनीनाम दिएको सो अखाद्य लेदो खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाडौंमा परिक्षण गर्दा HMF र F/G ratio को मात्र नेपाल सरकारको लागि तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहेको र  खान योग्य नरहेको देखिएको छ।'

श्रेष्ठलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको छ। काठमाडौं उपत्यकालगायतका देशका विभिन्न भागमा नक्कली एवं गुणस्तरहीन लेदो महका नाममा बिक्री वितरण भइरहेको पाइएकोले त्यसतर्फ सजग एवं सचेत रहन प्रहरीले अपिल गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.