|

पाल्पा : प्रायः घाम नलाग्ने चिस्यान। कान्लामा थोरै सम्म परेको जमिन। जमिनमा सानो झुपडी। टिनको छाप्रो। अगाडिपट्टि खरले छाएको पाली। जहाँ सानो बस्ने पिँढी छ। त्यही पिँढीमा बैसाखी र काठको लौरो बोकेर बसिरहेका एक युवक। दायाँबायाँ वृद्ध बुवाआमा र उनकी श्रीमती।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित सरुनका ४२ वर्षीय तिलबहादुर थापा विगत ५ वर्षदेखि उनी हिँडडुल गर्न सकेका छैनन्। मेरुदण्ड र मस्तिष्कमा भएको बिमारले उनी थलिएका हुन्।

आर्थिक अभावले उपचार गर्न सकेका छैनन्। छिमेकबाट ऋण काढेर उपचार गराइरहेका थिए। अहिलेसम्म करिब १० लाख रुपैयाँ उपचारमा खर्च भइसकेको छ तर शरीरमा भएको बिमार घटेको छैन।

अहिले ऋण माग्ने ठाउँ छैन। पैसा नहुँदा नियमित परीक्षण गराउन पाएको छैन। गत चैतदेखि बिमारको परीक्षण गराउन नपाएको तिलबहादुरले दुखेसो पोखे।

उनी राम्ररी बस्न सक्दैनन्। शौचालय जानसमेत बैसाखी र एकजना मान्छेको सहारा चाहिन्छ। घरमा ८२ वर्षीय बुवा, ८१ वर्षीया आमा, दुई छोरा र एक छोरी र श्रीमती छन्।

बुवाआमा वृद्ध‚ छोराछोरी साना। श्रीमतीले उनको स्याहार गर्नुपर्छ। बुवाआमाले बुझेको वृद्धभत्ताले जसोतसो दुई छाक गर्जो टर्दै आएको उनी बताउँछन्।

२०६७ सालमा वैदेशिक रोजगारका सिलसिलामा कतार पुगे। त्यहाँ पनि सोचेजस्तो काम पाएनन्। इलेक्ट्रिसियन काम गर्थे। दैनिक ८ घण्टा काम गर्दा मासिक ११ हजार तलब पाउँथे। बस्न कम्पनीले कोठा दिएको थियो। खानाको खर्च आफैँ बेहोर्नुपर्थ्यो।

जसोतसो तीन वर्ष काम गरेका उनले कतार जाँदा लागेको ऋण तिरेपछि घर फर्किए। घर फर्किएपछि पनि मिस्त्री काम गरेर परिवार पाल्दै आएका थिए।

उनको कमाइमा आफूसहित सातजनाको परिवार पालिँदै आएको थियो। उनी आफैँ बिरामी परेपछि अहिले सिंगो परिवार बिचल्लीमा परेको छ।

पाल्पास्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, रूपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल र पोखराको मेट्रो सिटी र मणिपाल अस्पतालमा तिलबहादुरलाई उपचारका लागि लगियो।

अहिले उनले मासिक १६ सयभन्दा बढीको औषधि सेवन गर्नुपर्छ। पैसा नहुँदा डाक्टरले भनेको नियमित औषधि समेत सेवन गर्न पाएका छैनन्।

घरमा ऋण लागेर दामासाहीजस्तै बनियो। छोराको बिमार जस्ताको तस्तै छ। साहुले पत्याउन छाडे। पैसा नहुँदा उपचार गर्न सकेका छैनौँ। एकपटक राम्रो अस्पतालमा लगेर उपचार गर्न पाए छोराको बिमार निको हुनेमा तिलबहादुरका ८२ वर्षीय बुवा तुलबहादुरको आशा छ।

उनका अनुसार फेरि एकपटक अप्रेसन गर्न डाक्टरले एक वर्ष पहिला सल्लाह दिएका थिए। अप्रेसन खर्च ३ लाख जुटाउन नसक्दा छोरा बिस्तरामा मुढो जस्तै पल्टिन परेको तुलबहादुरले बताए।

‘हामी काम गर्न नसक्ने बूढाबूढी भइयो। काम गर्न सक्ने एउटी बुहारी त्यही छोराको स्याहार गर्दा ठीकै छ। यस्तो आपत् कसैलाई पनि नपरोस्।’ गहभरि आँसु लिएर तुलबहादुरले थपे, ‘सबैले थोरै धेरै सहयोग गरे छोरो बाँच्ने थियो।’ छोराको उपचारका लागि सहयोग गर्न उनले सबैसँग अपिल गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.