|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले अहिले कोरोना संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य आइसोलेसनमा बस्नुपर्ने बताएका छन्। 

त्यसपछि लक्षण नदेखिएमा परीक्षण गराउन पनि नपर्ने र अरुलाई पनि नसर्ने उनको भनाइ छ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सहप्रवक्ता अधिकारीले सात दिनपछि पनि लक्षण भएको खण्डमा भने आफूमा संक्रमण अझै सक्रिय रहेको भनेर बुझ्न आग्रह गरे।

त्यसो हुँदा १३ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने उनको सुझाव छ। 

‘संक्रमण पुष्टि भएर आइसोलेशनमा बसेको छ भने ७ दिनपछि संक्रमण सर्दैन भन्ने कुरा पुष्टि भएकोले सात दिनपछि परीक्षण गर्नुको कुनै औचित्य छैन,' अधिकारीले भने, 'सर्पको काँचुली देखिएजस्तो भाइरसको केही अंश परीक्षण गरे पनि देखिन सक्छ। तर त्यसले संक्रमण सार्ने अवस्था हुँदैन। त्यो सक्रिय भाइरस हुँदैन।’

सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न उनले आग्रह गरे। 

स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो। 

सह-प्रवक्ता अधिकारीले ओमिक्रोन भेरिएन्ट तीव्र संक्रामक रहेकोले घर परिवारमा पनि कोभिडबाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र आफूलाई संक्रमण भए ७ दिन अघिसम्म भेटघाट गरेका मानिसहरुलाई सचेत गराउन अनुरोध गरे।

उनले सरकारले स्वास्थ्यका पूर्वाधारहरु बढाए पनि स्वास्थ्यकर्मीहरु गुणात्मक रुपमा बढाउन असहज भएको बताए।

सह-प्रवक्ता अधिकारीले असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताए।

‘पछिल्लो ओमिक्रोनको संक्रमण हेर्दा यो धेरै संक्रामक रहेको छ। यसले कुनै वर्ग, खोप लगाएको, नलगाएको, केही छुट्टिने अवस्था छैन। सबै वर्ग संक्रमित भइरहेको देखिन्छ। तीव्र संक्रामक भएको हुनाले एकजनामा संक्रमण पुष्टि भयो भने हामी बसेको ठाउँ परिवारमा अरु व्यक्ति पनि संक्रमित भएको देखिरहेका छौँ,' उनले भने, 'तर जोखिमको हिसाबले पहिलेका भेरिएन्टहरूभन्दा कम जोखिमपूर्ण छ।’

सह-प्रवक्ता अधिकारीले अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकाले पहिला लगाएको खोप मात्र लगाउनु पर्ने सुझाव दिए।

उनले कोभिशिल्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकाले यी दुई खोपमा भने रोजेर लगाउन सकिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.