|

सदा झैँ यस वर्षको स्वस्थानी व्रत कथा प्रारम्भ भएको छ। बेलाको बोली बोल्ने हो र समाजलाई समयअनुसार परिवर्तन गर्न अग्रसर हुने महिला क्षेत्रले यस्ता विषयमा विमर्श गरिरहनुपर्ने माग पनि उठिरहेको छ।

तर, आफूलाई अग्रगामी भन्ने महिला पक्षीय संस्था र नेतृहरूले यस्ता विषयमा विचार विश्लेषण गरिरहेको पाइन्न। कतिपय परम्परावादी महिला नेतृ र संस्थाहरू सदा झैँ सक्रिय देखिन्छन्। मिडियामा तिनकै विचार बारबार सुनिन्छ।  

अग्रगामी सोचहरू हात बाँधेर बसेको स्थिति छ। विचारलाई विचारले नै परास्त गर्नुपर्छ। अझ यस्ता विषयमा अखिल नेपाल महिला संघ (अनेम संघ)ले यस्ता विषयहरूबारे सघन बौद्धिक विचार विमर्श गर्न जरुरी देखिन्छ।

स्वस्थानीका सकारात्मक पक्ष र नकारात्मक पक्षबारे आफैँ स्पष्ट हुन जरुरी हुन्छ। पुर्खाहरूले सुरु गरेका परम्पराहरूलाई  समयअनुकूल बनाउनुपर्छ। तर्क र तथ्यसहित  विरोध गर्ने हो र विकल्पसहित विरोध गर्ने हो। 

अखिल नेपाल महिला संघका विधानमा समसामयिक सबालमा गोष्ठी, सेमिनार, विचार विमर्श गर्ने जस्ता कामहरू गर्ने कुरासमेत कतै उल्लेख छैन। विधानले नबोलेपछि काम नगर्नेलाई सजिलो हुने नै भयो। जब पढ्ने लेख्ने बौद्धिक क्षमता आर्जन गर्ने कुरा विधानमा नै नभएपछि गर्नु पनि भएन नि विचरा। 

कम्युनिष्ट पार्टीका पुराना नेता ओम कोइरालाका बुबा देवनारायणका घरमा कठोर   भूमिगत कालमा जननेता मदन भण्डारी आउँदा स्वस्थानी व्रत कथाको अवसर परेछ। यस अवसरमा आफ्नो छोराको साथी भनेर चिनिएका भण्डारीको सुरिलो स्वरबाट प्रभावित आमाहरूले भण्डारीबाट स्वस्थानी व्रत कथा भन्न आग्रह गरेछन्। मदनले पनि व्रत कथा पढेर सुनाउँदै बीच-बीचमा विश्राम लिएर कथामा रहेका कतिपय चरम रुढीग्रस्त विचार चाहिँ तपाईं हामीले मान्नु उपयुक्त हुँदैन भनेर चित्त बुझ्ने बताएको उनका परिवार सदस्‍य अहिले पनि  बताउँछन्।

आँ गर्दा अलङ्कार बुझिन्छ भनेझैँ मदन भण्डारीको उपयुक्त कुराबाट स्वस्थानी व्रत कथा वा अन्य कुनै पनि परम्परागत पूजा आजा पुराण आदिका सकार स्वीकार गर्ने र नकार चाहिँ अस्वीकार गर्ने हो भन्ने बुझिन्छ।

तर, त्यही घरमा केही समयअघि दिवंगत पिता माताका स्मृतिका आयोजित सप्ताह  पुराणमा  आचार्य पण्डित कुमार निरौला, कमल खतिवडाले  पुराण वाचनका क्रममा उखुमा रस भगवानले हालिदिएका भन्ने जस्ता चरम अन्धविश्वासी व्याख्यान गरेको हामीले सुन्यौँ।

परिवार नै अग्रगामी,प्रगतिशील वा कम्युनिस्ट भए पनि हाम्रा घरघरमा अनेक खालका अन्धविश्वासी क्रियाकर्म अहिले पनि हुने गरेको यो एउटा उदाहरण हो। अहिले नै पनि कतिपय नेता र नेतृका घरमा पुर्पुरोवाद भट्याउने  पूजाकोठा देखिन्छ। घरमा ध्यान कक्ष वा कोठा राख्नु सही होला तर आफूलाई कम्युनिस्ट वा एमाले नेता रूढीवाद र मार्क्सवादमा फरक नदेखे पछि  के हुन्छ? त्यसैले यस खालका रूढीवादी गतिविधिका बारेमा घरघरमा नै चर्चा परिचर्चा गर्नुपर्छ।

यस्ता विषयमा महिला संघले  जिल्ला जिल्लामा  सभा, समारोह र कार्यक्रम चलाउनुपर्छ। अझ सामूहिक रूपमा अलि परिष्कृत सापेक्ष स्वस्थानी व्रत र कथा वाचन अभियान सुरु गर्नुपर्छ।

स्वस्थानी व्रत कथामा उल्लिखित महिलाविरोधी विषयमा कार्यशाला वा छलफल चलाउने हो भने कोही मान्ने छैनन्। अनि यस्तै नहुने नहुने कथा र कुरा कसैले पनि स्वीकार नगर्ने स्थिति हुन्छ। यस खालका चरम रूढीवादी कथा, व्रत, पूजाआजाका बारेमा सरोकारवालाकै रायअनुसार स्वस्थानी व्रत कथा कम्तीमा व्रत कथालाई आलोचनात्मक रूपमा वाचन  गर्ने परिपाटी सुरु हुन्छ।

यसरी क्रमशः यस्ता व्रत कथामा परिमार्जन गर्न सकिन्छ। तर यस्तो  सोच नेतृत्वमा  आउनु पर्‍यो, आफू नजान्ने, भनेको नमान्ने भए पछि केही हुँदैन। पदको नेता, माननीय र मन्त्री नै पनि भएर पो के हुन्छ र कामले नै काम जानिन्छ। भुइँ तहदेखि नै काम जानेका महिलाको कुरै बेग्लै हुन्छ।

अहिलेको राजनीतिमा सही सल्लाह दिने पनि कम छन् र लिने पनि कम। अन्धविश्वास र असमानताविरुद्ध वर्षमा एकाध भाषण, मन्तव्य र कार्यक्रम गरेर के हुन्छ?  बिहानदेखि बेलुका अबेरसम्म घरघरमा र हरेक मिडियामा भाग्यवादकै फलाको सुनिन्छ। यसमा आलोचनात्मक विचार राख्ने मूलत: महिला नेतृ खासै देखिएका छैनन्।

लामो समयदेखि दिमागमा बाक्सी परेर जमेको मयल कहिलेकाहीँ सुमसुम्याएर सफा हुँदैन। त्यसैले कुनै न कुनै खाले अन्धविश्वास बोकेर हिँड्ने महिला नेतृ छँदै छैनन्  भन्न सकिँदैन।

किनभने सदियौँदेखि चरम रूढीग्रस्त स्वस्थानी व्रत कथा सुनेर त्यसअनुसार आफ्नो चिन्तन र चरित्र निर्माण गरेका महिला जगत् रातारात सच्चिने कुरा हुँदैन। तर, स्वस्थानी व्रत कथा भने समयको अन्तरालमा चरम रूढीग्रस्त शिद्ध भएको छ।

विद्वान् महेशराज पन्तले एक पत्रिकामा स्वस्थानी व्रत कथा विषयमा लेखेको एउटा लेख मैले पढेकी थिएँ। त्यस लेखमा स्वस्थानी नेपाल संवत् ६९३ मा पहिलो पटक स्वस्थानी व्रत कथा  कथा देखापरेको बताइएको छ।

अनि  नेपाल सम्वत् ७२३ मा स्वस्थानी ठूलो आकारमा प्रकाशित भयो। अहिले त नेपाली नेवारी मैथिली भोजपुरी र हिन्दीमा समेत यो कथा प्रकाशित छ भनिन्छ।

स्वस्थानीको पूजा गर्ने परम्परासँगै स्वस्थानी देवीका रूपमा पूजा गर्न थालेको पाइन्छ। मातृसत्तात्मक समाजमा माताको पूजा गर्ने चलनसँगै यसमा पितृसत्तात्मक सोच प्रवेश गरेपछि यस व्रतकथामा महिलाप्रति चरम उपेक्षा र अपमान तथा हेंलाहोचो जस्ता विषयहरूले राम्रै प्रवेश पाएको स्पष्ट हुन्छ। निम्न लिखित श्लोकले स्वस्थानीको पुरानु स्वरूप बुझाउँछ, 

स्वस्थानी परमेश्वर्या विधिवत् व्रतमाचरेत

तेन स्वस्थान लाभन्ते भविष्यन्ती नसंशय 

अर्थात् स्वस्थानी परमेश्वरीको विधिपूर्वक व्रत गर, त्यसबाट स्वस्थानको लाभ हुन्छ। आफू जन्मेको ठाउँलाई परमेश्वरी मानेर पूजा गर्दा गर्दै यसमा अनेक विकृति भित्रिएको हुनसक्छ। कुनै समयमा स्वस्थानी साक्षरता अभियान थियो होला मनोरञ्जन वा सिनेमा सरह रोमाञ्चक थियो होला। तर अब यसको सार र रूप समयानुकूल छैन।     

विरोध मात्र गरेर तर्कसंगत रूपमा उचित विकल्पसमेत महिलाका संघ र यसको उपल्लो नेतृत्वले दिन सक्नुपर्छ। यसका लागि  महिला नेतृहरू  अध्ययनशील, बौद्धिक, वैचारिक तथा लेखन कर्ममा लाग्नु जरुरी हुन्छ।

अखिल नेपाल महिला संघका विधानमा समसामयिक सबालमा गोष्ठी, सेमिनार, विचार विमर्श गर्ने जस्ता कामहरू गर्ने कुरासमेत कतै उल्लेख छैन। विधानले नबोलेपछि काम नगर्नेलाई सजिलो हुने नै भयो। जब पढ्ने लेख्ने बौद्धिक क्षमता आर्जन गर्ने कुरा विधानमा नै नभएपछि गर्नु पनि भएन नि विचरा। 

त्यसैले स्वस्थानी बारेमा गम्भीर विमर्श जरुरी छ। सुरुमा आठ पानाको स्वस्थानी व्रत कथा अहिले हजार पानाको भएको छ। संशोधन र परिमार्जन हुँदो रहेछ त। अनि गणतान्त्रिक नेपालमा स्वस्थानी व्रत कथामा समय अनुसारको संशोधन किन नगर्ने?

विधानमा महिलाहरूका विभिन्न खाले सिर्जनात्मक रचनात्मक प्रतिभा उजार गर्ने तिनलाई समृद्ध पार्ने कुनै दिशा निर्देश विधानले गरेको देखिन्न। सदस्यता वितरण, नवीकरण, समिति गठन, पुनर्गठन,सम्मेलन मात्र गर्ने अनि विभिन्न विषयमा विरोध वक्तव्य मात्र जारी गर्नु काम त हो तर यतिमै सीमित पारियो भने बौद्धिक क्षमता विकास हुँदैन।  

 स्वस्थानी व्रत कथामा छोरीलाई असाध्यै हेलाहोचो र अपमानमा गरिरहेको देखिन्छ। यस कथाको समापनमा र आठ रोटीलगायत अन्य ८-८ प्रसाद र फलफूल पतिलाई दिनु,पति नभए छोरालाई दिनु, छोरा नभए मितको छोरालाई दिनु र मितको छोरा नभए नदीमा बगाई दिनु भनेर कथामा छोरीलाई सन्तान नै मानिएको छैन। छोरी मात्र हुने आमाले यो व्रत लिँदा ८-८ रोटी र प्रसाद के गर्नु?

 वैदिक सनातन धर्म र धार्मिक ग्रन्थहरूमा महिलाका बारेमा मान र अपमान दुवैथरि विचार व्यवहार पाइन्छ। कहिले महिलालाई पूजनीय मानिएको छ भने कहिले अत्यन्त तिरस्कृत गरिएको पाइन्छ।

पछिल्लो अवधिमा भने प्राय छोरीलाई भोग्या, भाग्यवादी, नोकर्नी र सुसारेका रुपमा मात्र हेरिएको देखिन्छ।

नेपालको संविधानले समाजमा विद्यमान धर्म, प्रथा,परम्परा,रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने   किटानी व्यवस्था गरेको छ ।

त्यसैले स्वस्थानी बारेमा गम्भीर विमर्श जरुरी छ। सुरुमा आठ पानाको स्वस्थानी व्रत कथा अहिले हजार पानाको भएको छ। संशोधन र परिमार्जन हुँदो रहेछ त। अनि गणतान्त्रिक नेपालमा स्वस्थानी व्रत कथामा समय अनुसारको संशोधन किन नगर्ने?

स्वस्थानी व्रत कथामा गोमाले स्वीकार्न बाध्य पति शिव शर्मालाई कुप्रा, कान नसुन्ने, अधबेस्रा, डेब्रो, कैला आँखा भएका, आँखीभौँ  जोडिएका, केश पाकेका, मुखदेखि र्‍याल चुहाएका, अत्यन्त कुरूप र धरमर भएका बुढाका रूपमा चित्रण गरिएको छ।

बाध्य बनाएर बिहे गरिदिने अनि कथामा यस्ता पति पाउनु भाग्यको लेखा हो, दैवको लीला हो र पूर्वजन्मको फल हो भनिएको छ। पूर्वजन्मको फल हो भन्ने देखाउन रामचन्दको वनवास, द्रोपदीको चिरहरण, शिवको कालकुट विष पान, यदुवंशको सर्व नाश उदाहरणका रुपमा उल्लेख गरिएको छ।

यसरी महिलालाई कल, बल,  छल प्रयोग गरेर भाग्यवादी, परम्परावादी शिक्षाद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चरम असमानता र शोषण  गरिएको देखिन्छ। यस्ता कथा उपकथा हजार बार सुनाएपछि महिलाको मन र मस्तिष्क त्यहीअनुसार बन्छ। अनि समाज कसरी अघि बढ्छ र? राम्रा राम्रा कथा कहानी र विचार सुने, देखे र पढे पो चरित्र पनि त्यस अनुसारको हुन्छ। यस्ता कुरामा अनेम संघको  ध्यान कहिले जाला?

स्वस्थनी व्रत कथामा यो जीवन जगतको सृष्टि कसरी भयो भन्ने पनि धार्मिक व्याख्या गरिएको छ। यी कुराहरू विज्ञानसम्मत छैनन्। कथामा यो संसारको सृष्टि हुँदा परब्रह्म शिवको इच्छाले ब्रह्मा‚ विष्णु,रुद्र प्रकट भए भनिन्छ। यिनै त्रिगुण परब्रह्मा शक्तिबाट भगवती महामायाको उत्पत्ति भयो पनि भनिन्छ।

यी महाशक्ति भगवतीलाई कसैले पनि बसमा राख्न सक्तैन भनिएको छ। अनि तिनै आदिशक्ति र महाशक्तिको रुप स्वस्थानीलाई  मानिएको देखिन्छ।

एकातिर स्वस्थानी व्रत कथामा नारीहरू आदिशक्ति, महाशक्त्ति र परब्रह्म शक्तिका रूपमा उल्लेख गरिएको देखिन्छ भने तिनै शक्त्तिशाली नारी शक्तिलाई अत्यन्त कमजोर, निम्छरो र दासीका रुपमा उल्लेख गरिएको देखिन्छ। यस्तो खालको सोच र व्‍यवहार पितृ सत्तात्मक समाजबाट सुरु हुँदै विकसित भएको हुनुपर्छ ।

स्वस्थानी भनेर एकातिर मातृ शक्तिको पूजा गर्नू अर्कातिर तिनै मातृ शक्तिलाई घनघोर तिरस्कार गर्नु कथा होइन, व्‍यथा र वेदना हो। यस्ता व्रत कथा र पुराणहरू अब संशोधन गर्नुपर्छ। संशोधित कृति लेखन र प्रकाशन गर्नुपर्छ। अनेम संघले यस्ता कुराको अगुवाइ गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.