|

झापा : सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा उपलब्ध नगराएको र सो भत्ता तुरुन्त उपलब्ध गराउन माग राखी झापाका स्वास्थ्यकर्मीले सरकारलाई ज्ञापनपत्र पठाएका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घमा आबद्ध स्वास्थ्यकर्मीले कोरोनाको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमै तीव्र गतिमा फैलिइरहेको वेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न, नियमित तथा महामारीसम्बन्धी स्वास्थ्य सेवा दिन सरकारी संयन्त्र परिचालन हुनुपर्ने माग गरेका छन्। 

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल, जिल्ला कार्यसमिति झापाका अध्यक्ष भरत खतिवडाको नेतृत्वमा शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाका पुगेको टोलीले प्रजिअ छवि रिजालमार्फत प्रधानमन्त्रीलाई विभिन्न १४ बुँदे मागसहितको ज्ञापनपत्र पठाएका हुन्।

सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, सो सुविधा उपलब्ध नगराउने संस्थाहरूलाई कारबाही गर्नुपर्ने, अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित सबै स्वास्थ्यकर्मीका लागि सुविधायुक्त आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीहरूको निःशुल्क उपचार गर्नुपर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीको बिमाको यथाशीघ्र व्यवस्था गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। 

त्यस्तै स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप दिन खटिने स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गरिनुपर्ने, हाल खोप केन्द्रमा देखिने भीड नियन्त्रणका लागि पर्याप्त स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिनुपर्ने, खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा हुने भिडभाड, तोडफोड र हातपात गर्न खोज्नेलाई तुरुन्तै कारबाहीसँगै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्नेलगायत माग ज्ञापनपत्रमा गरिएको छ।

यथाशक्य चाँडो सबै नागरिकलाई कोरोनाविरुद्ध पूर्ण मात्रा खोप व्यवस्था गरिनुपर्ने, करारमा नियुक्त भई निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीको म्याद थप गर्नुपर्ने, कडाइका साथ जनस्वास्थ्यको मापदण्ड पालना गराउन कडाइ गर्नुपर्ने, खोप दिने स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने र सङ्घ तथा प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवाबढुवा, स्तरवृद्धिलगायत नियमित काम पारदर्शी रुपमा गर्न माग गरिएको सङ्घका सचिव महेश नेपालले जानकारी दिए।

स्वास्थ्यकर्मीको मागप्रति नेपाल निजामती कर्मचारी सङ्गठन झापाले ऐक्यबद्धता जनाएको छ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईँले स्वास्थ्यकर्मीले उठाएका माग जायज रहेकोले सरकारले तत्काल ती माग पूरा गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.