|

इस्लामावाद : लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिक पाकिस्तानको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश बनेकी छन्। उनले सोमबार शपथ लिने तय भएको छ।

पाकिस्तान जस्तो कट्टर मुस्लिम देशको इतिहासमा सर्वोच्च अदालतमा महिला न्यायाधीश हुनु महत्त्वपूर्ण क्षण भएको बताइएको छ।

शुक्रबार राष्ट्रपति आरिफ अल्वीले न्यायाधीश मलिकको बढुवालाई अनुमोदन गरेका थिए र उनको नियुक्ति शपथ लिनेबित्तिकै लागू हुनेछ।

सर्वोच्च अदालतमा नियुक्तिसम्बन्धी द्विदलीय संसदीय समितिले ५५ वर्षीया न्यायाधीशलाई बढुवा गर्न अनुमोदन गरेको दुई दिनपछि यो ऐतिहासिक क्षण आएको हो। पाकिस्तानको न्यायिक आयोगले जनवरी महिनाको सुरुमा उनको नाम सिफारिस गरेको थियो।

पाकिस्तान पिपुल्स पार्टीका सांसद फारुक एच नाइकको अध्यक्षतामा रहेको संसदीय समितिले उनको उम्मेदवारीलाई अनुमोदन गरेको थियो। वरिष्ठतालाई नभई महिला भएकाले उनको नाम सिफारिस गरेको थियो। 

न्यायाधीश मलिक लाहोर उच्च अदालतका न्यायाधीशहरूको वरिष्ठता सूचीमा चौथो स्थानमा थिइन्।

‘राष्ट्रको हितमा हामीले न्यायाधीश आयशाको नाम अनुमोदन गरेका छौं’, नाइकले भने।

न्यायाधीश मलिक मार्च २०१२ मा लाहोर उच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्। उनले सन् २०३१ को जुनमा सेवानिवृत्त नभएसम्म सर्वोच्च अदालतको न्यायाधीशको रूपमा काम गर्नेछिन्।

उनी आफ्नो वरिष्ठताका आधारमा सन् २०३० को जनवरीमा प्रधानन्यायाधीश बन्ने छिन्।

बारद्वारा विरोध

पाकिस्तान बार काउन्सिल (पिबिसी) र अल बार एसोसिएसनले मलिकलाई सर्वोच्च अदालतकी न्यायाधीश बनाए पूर्ण बहिष्कार गर्ने भन्दै विरोध गर्दै आएका छन्। वकिलहरूले जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म बहस नगरी ठप्प पार्ने चेतावनी दिएका थिए।

वकिलहरूले उच्च अदालतमा महिला न्यायाधीश भए पनि सर्वोच्च अदालतमा महिला न्यायाधीश हुन नहुने मनशाय व्यक्त गर्दै आएका थिए।

पिबिसीले संविधानको धारा १७५ क र २०९ मा न्यायपालिकामा न्यायाधीश नियुक्ति र हटाउने सम्बन्धमा संशोधन गर्न संसद् र राजनीतिक दलहरूसम्म पुग्ने चेतावनी दिएको थियो।

उनीहरूले प्रधानन्यायाधीश गुलजार अहमद सेवा निवृत्त हुने समय भएकाले उच्च अदालतमा न्यायाधीश नियुक्ति वा नियुक्तिको प्रक्रिया थाल्न नहुने माग गरेका थिए। नयाँ प्रधानन्यायाधीशले मात्रै यो सिफारिस गर्नुपर्ने उनीहरूले माग गरेका थिए।

-एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.