|

विराटनगर : विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकमा हिनामिना भएको पौने १६ करोडभन्दा बढी रकम घरजग्गा, मिटरब्याज, मदिरा र सुन्दरीमा खर्चिएको खुलेको छ।

बैंकको रकम हिनामिना प्रकरणमा समातिएका एक जनाले दिएको बयानअनुसार उक्त पैसा घरजग्गा, मिटरब्याजसहित मदिरा र सुन्दरीमा खर्चिने गरेको पाइएको हो।

बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ रकम हिनामिना भएको थियो। रकम हिनामिना प्रकरणमा बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीसहित चार जनालाई मोरङ प्रहरीले उच्च अदालत विराटनगरमा ‘बैंकिङ कसुरमा’ म्याद थप गरि अनुसन्धान गरिरहेको छ।

पक्राउ परेकामध्ये सुवेदीको नातेदार बबिता बस्नेतको खाताबाट सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा १४ करोड रकम गैरकानुनी ढंगबाट निकालिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

एक वर्ष अवधिमा सुवेदीले विराटनगर–५ स्थित आफ्नो घरसँगै जोडिएको एकतले घरसहित दुई करोडमा घरजग्गा खरिद गरेको पाइएको छ। खरिद गरेको घर घोटाला गरेको रकमले खरिद गरेको हो, होइन भन्नेबारे अनुसन्धान भइरहेको बैंकिङ कसुरको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकारीले बताए।

उनका अनुसार घोटाला गरेको रकम घरजग्गा, मिटरब्याज, मदिरा र सुन्दरीमा पनि खर्चिएको देखिएको छ। पुस १४ मा बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई प्रहरीले पक्राउ गरेको थियो।

यसअघि मंसिर १९ मा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए। सुवेदीले नातामा भान्जा पर्ने भट्टराईलाई जुनियर अफिसरमा नियुक्ति गरी जिएसडी प्रमुख बनाएका थिए। भट्टराईले एक करोडभन्दा बढी घोटला रहेको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ।

उनको नाममा पाँच वटा विभिन्न बैंकको खाताबाट एक करोड बढी रकम झिकेको देखिन्छ। बैंकको जागिर सरु गरेयता भट्टराई महंगो नाम चलेको होटल र रेष्टुरेन्टमा दैनिक जस्तो बास बस्ने गरेको अनुसन्धानबाट खुलेको छ।

बैंकको रकम उनले मदिरा र सुन्दरीमा खर्चिएको तथ्य खुलेको छ। विराटनगरका महंगो होटल, सेकुवा कर्नरदेखि काठमाडौंका रेस्टुराँ एवं लाउन्जहरूमा हुने जमघट बाक्लै हुने गरेको उनका एक आफन्तले बताउछन्।

नियन्त्रणमा लिएकामध्ये सुवेदी र लेखाप्रमुख भण्डारी नेरुडे लघुवित्त वित्तिय संस्थामा सँगै लामो समय काम गरेका थिए। सप्तकोशीमा उनीहरू आएपछि बैंकको अनियमिता गर्न कानुनी, नीति, नियम र प्रक्रिया विधि मिलाउन व्यस्त बनेको खुलेको छ।

भण्डारी सुवेदीका विश्वासिलो पात्र हुन्। अपरेसन प्रमुख थापा मगर पक्राउ परेका भट्टराईका साथी हुन्। मगरको खातामा पनि सन् २०१६ देखि २०१७ मा दुईवटा फर्जी कारोबार भएको देखिएको छ।                        

भट्टराई जेल चलान

अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय मोरङले तोकेको ५५ हजार रुपैयाँ धरौटी रकम नबुझाउँदा भट्टराई जेल चलान भएका छन्। अभद्र व्यवहार मुद्दामा धरौटी बुझाए पनि बैंकिङ कसुर मुद्दामा पक्राउ गरी पुनः हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्ने भएकोले धरौटी रकम बुझाउनुको साटो उनले जेल जाने निर्णय गरेका हुन्।

भट्टराईमाथि मोरङ प्रहरीले बैंकिङ कसुर मुद्दामा पनि अनुसन्धान गर्दै आएको छ। भट्टराई मंसिर १९ गते पक्राउ परेका थिए। प्रदेश १ का सात जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको चार अर्ब ३० करोड रुपैयाँ निक्षेप छ।

साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंकका नाम रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.