|

पर्वत : पोखरा रंगशालामा जारी आहा–रारा गोल्डकप अन्तर्गत आज चौथो खेल हुँदैछ। क्वार्टर फाइनल अन्तर्गतको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लब आपसमा भिड्दैछन्।

२० औँ संस्करणमा मनाङको पहिलो खेल हो। पुलिसले भने यसअघिका खेलहरूमा आयोजक सहारा क्लब र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलसम्मको यात्रामा आइपुगेको हो। पुलिस र मनाङको खेला आइतबार दिउँसो साढे २ बजे हुनेछ।

यसअघिका संस्करणलाई हेर्दा पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ साल गरी ६ पटक आहा–रारा गोल्डकपको उपाधि उचालेको छ। मनाङ पनि २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ गरी ६ पटक नै विजेता बनिसकेको छ। त्यसैले यी दुई टिमबीच आज कडा प्रतिस्पर्धा हुने देखिएको छ।

उपविजेताको आधारमा हेर्दा पुलिसले २०६१ र २०६२ तथा मनाङले २०५८, २०६३, २०६७, २०७० र २०७१ मा गरी पाँच पटक उपविजेतामा चित्त बुझाउनु परेको थियो।

जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा १० टिम सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.