|

सर्लाही : गाउँगाउँमा विद्युत् पुगेसँगै बिजुलीबाट चल्ने मिल खुल्न थालेपछि किसानलाई कुटानपिसान गर्न निकै सहज हुन थालेको छ।

अहिले सर्लाहीका अधिकांश गाउँमा बिजुलीबाट चल्ने मिल खुलेका छन्।

गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै घण्टौँ लगाएर जाँतोमा अन्नपात पिस्नुपर्ने बाध्यता अन्त्य भएको हरिपुर नगरपालिका–१, हजारबिघाका समीर कोइरालाले बताए।

‘पहिले जस्तो बिहान तीनचार बजे उठेर जाँतो चलाउनुपर्ने बाध्यता छैन, गाउँमै मिल खुलेका छन्, एकैछिनमा कुटान पिसान हुन्छ’, कोइरालाले भने।

किसानले उब्जाएको मकै, धान, गहुँ लगायतका अनाज कुटानपिसान गर्न ढिकी, जाँतोको प्रयोग हुनै छाडेको छ। मिलमा लगेर पिस्दा समयको समेत बचत हुने किसानले बताएका छन्।

कोइरालाले ६० हजारमा विद्युत्‌बाट चल्ने कुटानपिसान गर्ने उपकरण राखेका छन्। ‘यसअघि कुटानपिसानका लागि घण्टौँको बाटो तय गर्नुपर्थ्यो, अहिले आफैँले घरमा कुटान पिसानको उपकरण राखेका छौ, समयको बचत भएको छ’, उनले भने।

सर्लाहीमा २० वटा स्थानीय तहका २०० वटै वडामा विद्युतीकरण भइसकेको छ। विद्युत् पुगेकाले प्रत्येक वडामा बिजुलीबाट चल्ने मिल पनि पुगेका छन्।

अधिकांश स्थानीयवासी कृषि पेशामा आबद्ध रहेको कतिपय ठाउँमा एउटै वडामा आधा दर्जन बढी मिल सञ्चालनमा छन्।

विगत १५ वर्षदेखि कुटानपिसान गर्ने मिल सञ्चालन गर्दै आएका ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोर गोपीचौकका टेकबहादुर चापागाईंले आफ्नो ठाउँमा आधा दर्जन बढी मिल सञ्चालनमा रहेको बताए।

सुरुमा आफूले डिजलबाट चल्ने मिल सञ्चालन गरे पनि केही वर्षदेखि विद्युत्‌बाट चल्ने मिल सञ्चालन गर्दै आएको चापागाईंले बताए।

‘अहिले ७२ वर्षको भएँ, मैले कुटानपिसान मिल राखेकै १५ वर्ष भइसक्यो’, चापागाईंले कुराकानीमा भने, ‘अब पहिलेको जस्तो ढिकीजाँतोको प्रचलन हराइसक्यो, सबैले यस्तै बिजुलीबाट चल्ने मिलमा ल्याएर कुटानपिसान गर्छन्।’

आफ्नो क्षेत्रमा धान, मकै र गहुँ धेरै आउने गरेको उनले बताए। चापागाईंले कुटानपिसान मिल सञ्चालन गरेर गुजारा समेत राम्रोसँग चलेको जानकारी दिए।

सर्लाहीको हरिवन–१, का वडाध्यक्ष रामबहादुर क्याप्छाकीले गाउँघरमा खुलेका कुटान पिसान मिलले पशुपालक किसानलाई धेरै राहत मिलेको बताए।

‘कुटानपिसान मिलले सबैभन्दा सजिलो त किसानलाई भएको छ, बस्तुभाउलाई खुवाउन घण्टौँ लगाएर स्याँस्याँ–फ्याँफ्याँ गरेर ढिकीजाँतो चलाउनु परेको छैन’, वडाध्यक्ष क्याप्छाकीले भने।

बिजुलीबाट चल्ने मिल गाउँगाउँमा पुगेर सहज भए पनि पुरानो संस्कृतिको रूपमा रहेको ढिकीजाँतो लोप हुने अवस्थामा पुगेको भन्दै बूढापाकाले चिन्ता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.