६१ जना कर्मचारी संक्रमित

|

सुर्खेत : कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ। बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी नै थला पर्न थालेका छन्।

विगत एक महिनाअघि दैनिक तीन, चार सय सेवाग्राही (बिरामी) आउने प्रदेश अस्पतालमा हाल ह्वात्तै बिरामीको संख्या बढेको छ।

अस्पतालका अनुसार हाल दैनिक पाँचदेखि सात सय जनासम्म सेवाग्राही अस्पताल आउँछन् तर तिनै बिरामीलाई सेवा दिन बसेका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बन्न थालेपछि सेवा प्रवाहमा सकस भएको छ।

अस्पतालका अनुसार सामान्यबाहेक आपत्कालीन सेवा दिनुपर्ने बिरामी समेत ह्वात्तै बढेका हुन्। अस्पतालमा सेवा लिन आएका कोरोना संक्रमित तथा अन्य रोगका बिरामीसँगै स्वास्थ्यकर्मी पनि थला पर्न थालेपछि चिन्ताजनक अवस्था सिर्जना हुनसक्ने देखिन्छ। 

६१ जना कर्मचारी संक्रमित

अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार आइतबारसम्म मात्रै अस्पतालमा कार्यरत ६१ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणको तेस्रो लहर नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी तीव्र पारिएका वेला स्वास्थ्यकर्मी नै धमाधम संक्रमति बन्न थालेपछि सेवाग्राही (बिरामी) पन्छाउन सकस परेको डा. खड्काले बताए।

अस्पतालका कार्यालय सहयोगी, नर्सिङदेखि अप्रेसन थिएटरसम्मका ६१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।

‘एकातिर अस्पतालमा दरबन्दीअनुसार कर्मचारी अभाव छ। अर्कोतिर भएका कर्मचारी नै संक्रमित भएर आराम गरेर बस्दा सेवा प्रवाहमा सकस छ’, निर्देशक डा. खड्काले भने, ‘उपलब्ध बाँकी जनशक्तिले ओभर ड्युटी गरेरै भए पनि सेवा रोकेका छैनौँ तर यसरी नै कर्मचारी संक्रमित भएर थला पर्न थालेमा सेवा प्रवाह रोक्नुपर्ने पनि स्थिति हुनसक्छ।’

अभावै अभावबीच सेवा

हाल प्रदेश अस्पतालमा १३९ शय्याको कोभिड अस्पताल सञ्चालनमा छ। कोभिड व्यवस्थापनका लागि २० वटा आइसियू बेड र ७ वटा भेन्टिलेटर व्यवस्थापन गरिएको छ भने सामाजिक विकास मन्त्रालयसँग अभाव कर्मचारी तत्काल पूर्ति गर्न माग गरिएको छ।

औषधि उपकरणसँगै बिरामीलाई खानाको समेत व्यवस्थापन गर्ने लगायतका विषयमा प्रदेश सरकारसँग रकम माग गरिएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए। दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन नभएका वेला क्षमताभन्दा बढी बिरामीलाई उपचार गर्न हम्मेहम्मे परेको उनको भनाइ छ।

१५० शय्या अनुमति, २५० सञ्चालन

हाल प्रदेश अस्पतालले १५० बेड सञ्चालनको अनुमति पाएको छ। बिरामीको चापले गर्दा २५० शय्यासम्म सञ्चालन गर्नुपर्ने बाध्यता छ।

‘अस्पताल पुगेका बिरामीलाई सेवा नदिएर डिस्चार्ज गर्ने कुरै भएन। बिरामीको चापलाई मद्देनजर गरी २५० शय्या बराबर सेवा सञ्चालन गरेका हौँ’, डा. खड्काले भने, ‘ढाड र टाउकोको पनि शल्यक्रिया सेवा सुरु भएको छ। अब सर्ने टिबीका बिरामीलाई पनि भर्ना गरी उपचार गर्ने योजना छ।’

मानव विकास सूचकांकमा पछि परेको कर्णाली प्रदेशका नागरिक विभिन्न प्रकारका रोगले पनि ग्रसित छन्। यहाँ नागरिकको सहज पहुँच पुग्ने गरी उपचार गर्ने भरपर्दो सरकारी अस्पताल पनि छैन।

हाल प्रदेश अस्पतालले आँखा र मुटुको बाहेक अन्य सबै प्रकारका जटिल शल्यक्रिया गर्न थालेपछि अस्पतालप्रति कर्णालीवासीको पनि भरोसा बढेको छ।

तर कोरोनाको तेस्रो लहरसँगै बिरामीलाई उपचार गर्न खटिएका स्वास्थ्यकर्मी नै आफैँ थला पर्न थालेपछि सेवाग्राही चिन्तित बनेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.