|

हेटौंडा : बागमती प्रदेशका ८ मन्त्रालय विभाजन भएर १४ वटा बनेको दुई महिना हुन लाग्यो। ती मन्त्रालय चलाउन १८ जना मन्त्री बनेका छन्। 

मन्त्रालय चलाउन जम्बो मन्त्रिपरिषद् बने पनि विभाजित मन्त्रालय र मन्त्रीहरू कामविहीन अवस्थामा छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गत मंसिर १५ गते प्रदेश सरकारको काम प्रभावकारी बनाउन भन्दै ८ वटा मन्त्रालय फुटाएर १४ पुर्‍याएका थिए।

सरकारको कामलाई छिटो, छरितो, सहज र प्रभावकारी बनाउने भन्दै विभाजन भएको मन्त्रालयले हालसम्म न बजेट पाएको छ न योजना नै। जसले गर्दा ती मन्त्रालयहरू कामविहीन भएर बस्नुपरेको छ।

विभिन्न बहाना बनाएको भए पनि मुख्यमन्त्री पाण्डेले गठबन्धन दलमा भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेका थिए। जसले गर्दा गठबन्धन दलमा मन्त्रालयहरूको भागबण्डा त मिल्यो तर मन्त्रालयमा नियुक्त मन्त्रीहरूले काम भने पाउन सकेका छैनन्।

आफ्नो नेतृत्वमा रहेको मन्त्रालयले योजना र बजेट नपाएपछि बागमती प्रदेशको विभाजित मन्त्रालयका अधिकांश मन्त्री केही दिनदेखि एकै छिन मन्त्रालयमा हाजिर हुँदै हेटौंडाबाट बाहिरिन्छन्।

गत बिहीबार दिउँसो २ बजे बागमती प्रदेशका भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल मन्त्रालयबाट तल्लो तलामा झरे।

छैटौं भवनमा रहेको आफ्नो मन्त्रालयबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा झर्दै उनले भने, ‘अब निस्किन लाग्या म त। यहाँ बसे पनि काम छैन, किन बस्नु?’

त्यति भनेर बाहिरिएका उनी आइतबारसम्म मन्त्रालय फर्किएका छैनन्। प्रदेशको अन्य मन्त्रालयको मन्त्रीहरूको अवस्था पनि यस्तै छ।

बागमती प्रदेशमा ४ दलीय गठबन्धनको नेतृत्वमा सरकार बनेपछि मन्त्रालय विभाजन भए पनि चालू आवको प्रदेशको नीति तथा कार्यक्रम, योजना र बजेट भने असारमा नै आइसकेको थियो।

गठबन्धन नेतृत्वको सरकार गत कात्तिक ११ मा बनेयता प्रदेशका मन्त्रालय विभाजित बनेका हुन्। बागमती प्रदेशमा एउटै मन्त्रालयलाई विभाजन गरेर ३ वटासम्म बनाइएको छ।

प्रदेशमा रहेको ७ वटा मन्त्रालयका लागि ल्याइएको बजेट र योजना अब १४ मन्त्रालयमा विभाजन गर्नुपर्ने भएको छ। यसले गर्दा बागमती प्रदेशमा रहेका मन्त्रालयले मन्त्री पाए पनि हालसम्म काम भने पाउन सकेका छैनन्।

एउटै मन्त्रालयबाट टुक्रिएर ३ वटामा विभाजित भएको श्रम, रोजगार तथा यातायात मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयहरू पनि कामविहीन अवस्थामा छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फुटेर गएका यी मन्त्रालयको कामको योजना र बजेट छुट्टाछुट्टै भए पनि हालसम्म भौतिक विकासबाट मन्त्रालय मातहत पुगेको छैन। जसले गर्दा ती मन्त्रालयमा नियुक्त मन्त्री र कर्मचारी कामविहीन छन्।

मन्त्रालय मातहतबाट हुनुपर्ने काम कारबाही नरोकिएको भए पनि सम्बन्धित मन्त्रालयले अख्तियारी नपाएको हुँदा अझैसम्म फुट्नुअघिको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट नै ती काम भइरहेको मन्त्रालयको सूचना अधिकारी राजन पोखरेलले बताए।

‘मन्त्रालयहरू अलग अलग भए पनि मन्त्रालयको संरचना अलग अलग भएर बजेट र योजनाहरू आउनै बाँकी छ। जसले गर्दा अहिलेसम्म कुन मन्त्रालयले के काम गर्ने भन्ने नै छैन’, उनले भने, ‘छुट्टिएका मन्त्रालयबाट प्रशासनिक कामबाहेक अन्य काम भएको छैन।’

हाल यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका उनले भौतिक मन्त्रालयबाट विभाजित यातायात मन्त्रालय योजना हुने मन्त्रालय समेत नभएको भन्दै ऐन, नियमावली बनाउने र प्रशासनिक काम गर्ने कार्य भइरहेको बताए।

‘यो मन्त्रालयको खासै योजना केही हुने त होइन। त्यही पनि केही प्रशासनिक कामहरू हामी गरिरहेका छौँ। हालसम्म मन्त्रालयको योजना र बजेट बाँडफाँड नहुँदा चिया खर्चका लागि पनि अर्को मन्त्रालयको भर पर्नुपरेको छ’,उनले भने।

‘खानेपानीका लागि यो योजना यति बजेट भनिएको हुन्छ। त्यसैगरी यातायातका लागि यति भनेर छुट्याइएको हुँदा त्यस्ता योजना र बजेट स्वतः ती मन्त्रालयमा जान गाह्रो हुँदैन। तर प्रशासनिक योजना, बजेट र कर्मचारी विभाजन गर्न भने समस्या हुन्छ’, उनले थपे, ‘त्यही पनि ओएनएम हुँदै छ, अब छिट्टै सबै मन्त्रालयले आ–आफ्नो योजना र बजेट पाउनेछन्।’ 

बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अहिले तीन मन्त्रालयमा विभाजन भएको छ। संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइएको छ।

मुख्यमन्त्रीले मन्त्रालय फुटाइएसँगै कर्मचारीहरू अहिले सबै मन्त्रालयलाई बजेट तथा कार्यक्रम फुटाउन व्यस्त छन्। एउटा मन्त्रालय फुटाएर तीनवटा मन्त्रालय बनाएसँगै एउटा मन्त्रालयको बजेट तथा कार्यक्रम तीनवटै मन्त्रालयका लागि बाँडफाँड गर्ने काम भइरहेको मन्त्रालयका एक कर्मचारीले बताए।

उनका अनुसार एक मन्त्रालय हुँदा आएको बजेट नै ३ वटामा बाँडफाँड भइरहेको छ। अबको केही दिनमै मन्त्रालयगत बजेट विनियोजन हुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.