|

विराटनगर : नोबेल शिक्षण अस्पतालमा भइरहेको आन्दोलन रोक्न विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ।

कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै लामो समयदेखि विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आइरहेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार आन्दोलन स्थगन गर्न निर्देशन जारी गरेका हुन्।

‘उपरोक्त विषयमा चालू आ.ब.मा एमबिबिएसमा भर्ना हुने विद्यार्थीहरूलाई नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी रकम लिएको विषयमा अनुसन्धान गरी कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढिसकेको छ’, उक्त निर्देशनमा उल्लेख छ, ‘कोभिड १९ को तेस्रो भेरियन्ट ओमिक्रोनका कारण मोरङमा कोभिडको संक्रमण अत्याधिक बढेको, यस्तो अवस्थामा आन्दोलन गर्दा यसबाट कोभिड संक्रमणको जोखिम झन् बढ्न जाने देखिएकाले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिदिन अनुरोध छ।’

प्रजिअ दाहालले गृहमन्त्रालय, चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयलाई पनि उक्त परिपत्र बोधार्थ दिएका छन्।

शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मालाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने विद्यार्थी नेता ओसिम आलम बताउँछन्। जबसम्म मेडिकल माफियालाई कारबाही हुँदैन, विद्यार्थीले न्याय नपाउने बताउँदै उनले तबसम्म आन्दोलन जारी रहने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.