|

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यो सिजनमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेल्सियस झरेको छ।

यहाँका स्थानीय बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन्। घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अबलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्ययले बताए।

पर्यटकीय सिजन सकिएसँगै यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दा चिसो छल्नकै लागि राजधानी काठमाडाैं लगायतको क्षेत्रमा जाने गर्छन्। यस वर्ष पनि धेरैजसो स्थानीयवासी चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अहिले दैनिक २÷३ उडानमा सिमित बनेको छ।

खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौं गएको स्थायनीबासी पेमायाङ्जी शेर्पाले बताइन्। घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाडौं गएको उनको भनाइ छ।

केही स्थानीयवासी चिसो छल्न खुम्बु छाडेका छन् भने केही स्थानीयवासी र कर्मचारीले घरैमा आगो तापेर दिन बिताउने गरेका छन्। तर शान्ति सुरक्षाको लागि खटिएको प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज समेत भएकाले चोरी शिकारी लगायत अन्य घटना हुन नदिनको लागि प्रहरी सधै सक्रिय हुनुपर्ने भएकाले सोही अनुसार ड्युटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए।

गाउँ समाज तथा नागरिकको सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकी मध्ये सबैभन्दा बढी उचाइमा खुम्जुङ प्रहरी चौकी पर्छ। जुन समुद्री सतह देखि ३७७० मिटर उचाइमा पर्छ। यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियस रहेको छ। यस अवस्थामा  सबै नागरिक आगो तापेर घरभित्र बसिरहेका छन् भने प्रहरी उनीहरुको सुरक्षाको लागि दुई फिटको हिउँमा गस्ती गरिरहेको छ।

पाइपमा पानी जमेका कारण २० मिनेट टाढा मुहानको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रहरी चौकी खुम्जुङका इन्चार्ज प्रहरी हवलदार जय ढकालले बताए।

‘हिउँ अत्याधिक परेको बेलामा त झन समस्या हुन्छ।’ इन्चार्ज ढकालले भने, ‘समस्या हुन्छ भनेर बस्न मिल्दैन, यहाँ गाउँ बस्ती पनि छ, धेरैले गाउँ छाडेर चिसो छल्न बाहिर गएका छन्, हाम्रो काम सुरक्षा दिने हो, राज्यले दिएको यो जिम्मेवारी त पुरा गर्नुपर्‍यो नि हजुर।’ कुनैपनि घटना घट्यो भने एक दिन  सम्मको बाटो हिड्नुपर्ने उनको भनाइ छ।

खानाभन्दा सुरक्षा पहिलो प्राथमकिता 

राज्यको हरेक निकायलाई आवश्यक पर्ने प्रहरी संगठन, जसको हिमाल, पहाड, तराईका फाट या अन्य कुनै विपत्तिका घटना होस् त्याहाँ प्रहरीको उपस्थिति महत्वपुर्ण हुन्छ। प्रहरी कर्मचारी देख्नेबित्तिकै गलत सोचभएकाहरु समेत हच्कने गर्छन्।

कानुन कार्यान्वयनको सवालमा पक्राउ गर्ने देखि अनुशन्धान गर्ने सम्म र नागरिकको जिउ ज्यानको सुरक्षा गर्ने, गाउँ समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने सम्ममा प्रहरीको भुमिका महत्वपुर्ण हुन्छ। तर ती प्रहरीको दैनिकी कसरी बित्छ भन्ने चाहि लुकेर रहेको विषय हो।

खुम्जुङ र ठमु प्रहरी चौकीका प्रहरी कर्मचारीको नाजिकको साप्ताहिक हाट नाम्चे हो। उक्त बजार सम्म पुग्नको लागि दुई घण्टा सम्म हिड्नुपर्ने प्रहरी कर्मचारीको भनाइ छ। अत्याधिक हिउँ परेका कारण दुई हप्ता देखि हाट सम्म पुग्न नसकिएकाले सोयाबिन र आलुको तरकारीमा खानाखानुपर्ने बाध्यता रहेको प्रहरी हवलदार जय ढकालको भनाइ छ। 

खानामा नयाँ नयाँ स्वाद लिन चाहेपनि नसकिने उनको भनाइ छ। यस्तै कपडा धुनको लागि पानी तताउनुपर्ने बाध्यता रहेको उनले बताए।

आफुलाई आवश्यक पर्ने लत्ताकपडाको साथै ओड्ने ओछ्याउने समेत लैजान समस्या हुनेगरेको उनीहरुको भनाइ छ। उक्त समस्यालाई मध्यनजर राख्दै वडा कार्यालयले म्याटिस लगायतको आवश्यक कपडा व्यवस्थापन गरिदिएकाले सहज भएको ढकालको भनाइ छ। 

त्यस प्रहरी कर्मचारीको समस्यालाई मध्यनजर राख्दै स्थानीय सरकारसँगको समन्वयमा आवश्यक सहयोग जुटाइदिने गरेको प्रहरी नायव उपरीक्षक कवित कटवालको भनाइ छ।

वातावरण राम्रो भएमा मात्रै प्रहरी कर्मचारीले उत्कृष्ट काम गर्न सक्ने भएकाले जिल्लाको हरेक प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा समेत सोही अनुसार व्यवस्थापनको काम गरिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.