|

मुगु : छायानाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी खुसी भएका छन्। छायानाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीय बासी खुसी भएका हुन्। 

कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको ६ किलोमिटर सडकको ट्याक खुलेसँगै आइतबार पहिलो पटक लिउडी गाउँमा गाडी पुगेको हो।

गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौंदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन्।

छायानाथ रारा नगरपालिकाको लगभग ६७ लाख लगानीमा सडक निर्माण भएको र सडक निर्माणका लागि उपभोत्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ।

कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाही र उप प्रमुख सुन्तला रोकायाले सयुक्त रुपमा रिवन काटेर सडकको उद्घाटन गरे।

सडक उद्घाटन कार्यक्रममा बोल्दै छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले चुनावका बेला लिउडी गाउँमा विद्युत् र सडक पुर्‍याउने वचन दिएकोमा अन्तिम कार्यकाल भए पनि सडक र विद्युत् पुर्‍याउन सफल भएको बताए।  

उनले छायानाथ रारा नगरपालिकाले यहाँका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य लिएको र करिब सबै बस्तीमा सडक पुर्‍याइसकेको पनि बताए। बाँकी रहेका बस्तीमा वैशाखसम्म जसरी पनि सडक पुर्‍याइने नगर प्रमुख शाहीले बताए।

उनका अनुसार कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकलाई लाई घटट्लेखसम्म पनि जोडिने र नगरपालिकाको यो सडकलाई रिङरोड बनाइनेछ।

लिउडी गाउँमा सबैभन्दा बढी आलु उत्पादन हुने गर्दछ। यातायातको सुविधा नहुँदा सदरमुकाम गमगढी बजारमा बोकेर भए पनि आलु बिक्रीको लागि ल्याउने गरिएको र धेरै कुहिर जाने गरेको स्थानीय हरिलाल सेजुवालले बताए। गाउँमै गाडी पुगेपछि खुसी हुँदै उनले भने, 'अब गाउँमै गाडी पुगेको छ, धेरै उत्पादन हुने आलु, सिमी बजारीकरणमा सहज हुने आशा राखेका छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.