|

विराटनगर : नोबेल मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत चार विद्यार्थी नेता घाइते भएका छन्। कलेज अगाडि सिठी जुलुस प्रदर्शन गर्ने क्रममा उनीहरूमाथि कलेजका सुरक्षा गार्ड र विद्यार्थी बिच भिडन्त हुँदा  चार जना विद्यार्थी नेता घाइते भएका हुन्।

कलेजले एमबिबिएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूले आज (सोमबार) पनि आन्दोलन जारी राखेका छन्।

घाइते हुनेहरूमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र मेहता, अखिल (क्रान्तिकारी) मोरङका जिल्ला सहसचिव उमेश सेन्चुरी छन्।

कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्न खोजेको भन्दै  लामो समयदेखि विभिन्न पाँच विद्यार्थी संगठनले आन्दोलन गर्दै आइरहेका थिए। उनीहरूले दुई साता अगाडिदेखि नोबेलको प्रशासन फाँटमा अनिश्चितकालिन तालाबन्दी गरेपनि कामकाज निर्वाध रूपमा संचालन हुने गरेको पाएपछि काम रोक्नुपर्ने भन्दै विद्यार्थी नेता नोबेल प्रशासनभित्र प्रवेश गर्दा सुरक्षा गार्ड र विद्यार्थी बिच भिडन्त भएको  अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अनसरीले बताए।

उनका अनुसार घाइते विद्यार्थीको हात र आँखामा चोट लागेको छ। सुरक्षामा खटिएका तीन जना प्रहरी पनि घाइते रहेको मोरङ प्रहरीले जनाएको छ। विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार पत्राचार गरेर आन्दोलन स्थगन गर्न निर्देशन दिएको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण फैलिने जोखिम बढेकाले स्थगित गर्न निर्देशन दिएको हो।

प्रजिअ दाहालले पठाएको पत्रमा नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्कको विषयमा अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिसकेकोले पनि आन्दोलनको औचित्य नभएको भनिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले एक साताभित्र अनुसन्धान गरेर विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको पाइए कलेज सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ। 

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क वाहेकको काठमाडौं विश्वविद्यालयको रजिष्ट्रेशन शुल्क २५ हजार, एफिलेसन शुल्क ९८ हजार ५७९, परीक्षा शुल्क ११ हजार र नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क वापत ५ हजार र एक वर्षको होस्टेल शुल्क १ लाख २३ हजार कलेजले असुलिरहेको पीडित विद्यार्थीहरूको दावी छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.