|

हेटौंडा : मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुर गढीमा २५९ औं विजय उत्सव मनाइएको छ। 

विदेशी फौजमाथि विजय प्राप्त गरेको खुसियालीमा हरेक वर्षजस्तै यसवर्ष पनि २५९ औं विजय उत्सव मनाइएको हो। विजय उत्सवमा प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहाल र २८ नम्बर गणका प्रमुख सेनानी सानुभाई थापाले संयुक्त रुपमा मकवानपुरगढी तथा नेपाली सेनाको सम्बन्ध अङ्कित सिला बोर्ड उद्घाटन तथा झन्डोत्तोलन गरे।

यस वर्ष कोरोना संक्रमण महामारीको कारण सामान्य रुपमा विजय उत्सव मनाइएको आयोजक ऐतिहासिक मकवानपुरगढी विजय उत्सव मुल समारोह समितिले जनाएको छ।

यस्तो छ इतिहास

मकवानपुरगढी नेपालको सबैभन्दा ठुलो गढि हो। यो गढी पुरातात्विक एवम् ऐतिहासिक हिसाबले अत्यन्तै महत्वपुर्ण मानिन्छ। यो गण सेन वंशीय राजाहरुको राज्य सञ्चालनको केन्द्रको रुपमा रहेको थियो। मकवानपुर राज्य राजनीतिक,सामाजिक,आर्थिक तथा सैनिक शक्तिमा अन्य राज्यहरु भन्दा शक्तिशाली समेत थियो। नेपाल एकिकरण अभियानको दौरान उपत्यकाको ३ राज्यहरु (कान्तिपुर,पाटन र भादगाँउ) माथि आक्रमण गरि विजय हासिल गर्न मकवानपुर राज्य कब्जा गर्नु महत्वपुर्ण रहेको थियो।

यसबाट काठमाडौं उपत्यकाका राज्यहरुको दक्षिणतर्फको आवतजावत रोकिनुको साथै त्यसतर्फबाट हुनसक्ने सहयोगबाट समेत वञ्चित गर्न सहज हुने भएका कारण यस गढीको रणनैतिक महत्व रहेको थियो। सो रणनैतिक उद्देश्य प्राप्त गर्नको साथै आफ्नो एकिकरण अभियानमा दखल पुगोस् भनी पृथ्वीनारायण शाहले मकवानपुर राज्यकी राजकुमारी ईन्द्रकुमारी देवीसँग विवाह गरि राजा दिग्बन्धन सेनसँग ज्वाई जेठानको नाता रहन गयो। यसरी मकवानपुर राज्यको सम्पुर्ण खासखुसीयात बुझिसकेपछि पृथ्वीनारायण शाहको गोर्खाली फौजले वि.स.१८१९ भदौ ९ गते मकवानपुर राज्यमाथि आक्रमण गरे। करिव ८ घण्टाको लडाई पश्चात मकवानपुरे सेना किल्ला छाड्न बाध्य भए र तत्कालिन सेन वंशीय राजा मकवानपुरे राजा दिगबन्धन सेन आफ्ना बाँकी सेना लिई करिव ४० किलो मिटर पूर्वमा रहेको हरिहरपुर गढितर्फ लागे।

यसरी गोर्खाली फौजले मकवानपुरगढी माथी कब्जा गरे पश्चात मकवानपुर राज्य गोर्खा राज्य अन्तर्गत हुन आयो। गोर्खाली फौजले स्वतन्त्र राज्यमाथी विजय प्राप्त गरेको यो पहिलो अवसर थियो। लडाईमा पराजित भएका राजा दिगबन्धन सेन बंगालका नवाब मिर कासिमसँग सैन्य सहयोगको लागि अनुरोध गर्न पुगे। उनको सहयोगमा बन्दोबस्तसहित आएका करिव ३ हजार बंगाली फौजले गोर्खाली सेनाको नियन्त्रणमा रहेको मकवानपुर गढी माथि वि.स.१८१९ माघ १० गतेका दिन प्रत्याक्रमण सुरु गरे। गढी भन्दा अगावै गढी अवस्थित रहेको स्थानको फेदीमा रहेको मकवानपुर गढी माथि शिखर कटेरी भन्ने स्थानमा करिव १० घण्टाको लडाई पश्चात गोर्खाली सेनाको बहादुरी र बुद्विमतापुर्ण रणकौशलका अगाडि बंगाली फौज पराजीत हुन पुग्यो। मकवानपुरगढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकवाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएका थिए।

यस लडाईमा मिर कासिमका बंगाली फौजतर्फ करिव १७०० लडाकु सैनिक मारिएका थिए भने गोर्खाली सेनाको तर्फ ३० गोर्खाली सैनिक मारिएको उल्लेख छ। यसरी विदेशी फौजमाथि विजय प्राप्त गरेको स्मरणमा विजय उत्सव मनाएको हो। नेपाली फौजले मीर कासिम फौज पराजित भएपछि उनीहरुवाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले राष्ट्रको रक्षाका लागि सैनिक संगठन संरचना निर्माणको अभ्यास सुरु गरेका हुन। पृथ्वीनारायण शाहले त्यतिवेला श्रीनाथ गण, सवुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिवक्स गण गठन गरेका थिए।

नेपाली सेनाको इतिहासमा मकवानपुर गढीको वीरताको ऐतिहासिक पृष्ठभूमि रहेको छ। पाल्पाका राजा मुकुन्द सेनले आफना चार छोरालाई राज्य बाँडेका थिए। मकवानपुर सेनको कान्छा छोरा लुहाङको भागमा परेको थियो। आफनो राज्यलाई सुरक्षित गराउन लुहाङले वि.स. १६२२ मा मकवानपुरगढी निर्माण गरेको इतिहासमा उल्लेख छ। गढीको सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र ७ फिट चौडाइ भएको पर्खाल लगाइएको छ। 

के छ मकवानपुरगढीमा ?

मकवानपुरगढीमा मुख्य रूपमा दुईवटा गढ छुट्टाछुट्टै छन्। राजदरबार रहेको ठूलो गढलाई मूल गढ भनिन्छ। त्यस्तै, सैनिक परेड खेल्ने र प्रशासनिक भवनसमेत रहेको गढ सानो गढीको नामले परिचित छ। मूल गढको सुरक्षाका लागि चारैतर्फ करिब २५ फिट अग्लो पर्खाल लगाइएको छ। पर्खालको चौडाइ करिब चार फिट छ भने पर्खाल वरपर १० फिट गहिरो खाडलले गढलाई थप सुरक्षा प्रदान गरेको छ।

पूर्व–पश्चिम फैलिएको यस गढमा राजपरिवार बस्ने दरबार जुगे दरबारका नामबाट परिचित छ। दरबारमा प्रयुक्त ढुङ्गालगायत अन्य भौतिक वस्तुहरू व्यक्तिगत प्रयोगमा लैजाने गरेका कारण हाल दरबारको भग्नावशेष मात्र छ। त्यसबेला अपराधीलाई दण्ड दिन कारागारको स्वरूपमा बनाइएको खाल्डो अझै छ। तत्कालीन समयमा ऐनकानुन मिच्नेलाई गहिरो खाडलमा हालेर मार्ने गरिएको बताइन्छ। मकवानपुर गढीमा नेपालमा अन्यत्र नभएको वंशगोपालको मन्दिर एवं मूर्ति पनि छ। यो मन्दिरमा बांसुरी बजाइरहेका भगवान् श्रीकृष्णको सुनको लेपनको ६ फिट अल्गो मूर्ति छ।

यो दुर्लभ मूर्तिलाई फलामे सिक्रीले बांधिएको छ। हिन्दूपति सेन राजाको दरबारमा अवस्थित श्रीकृष्ण भगवान् बेलाबखत गढी छाडेर चितवनको तोरीबारीमा रमाएर जाने गरेकाले उनलाई सिक्रीले बांधेर राखिएको किंवदन्ती छ। सानो गढी मूलगढको उत्तरपश्चिमतर्फ छ। सानो गढीमा ऐतिहासिक र पुरातात्विक महत्वका वस्तुहरू कमै मात्रामा पाइन्छन्। यस गढीमा सैनिक परेड खेल्ने र मूल गढीबाट राजाले रमिता हेर्ने गरेको इतिहासमा उल्लेख छ। 

मकवानपुरगढीको मुख्य प्रवेशद्वारबाट अलि भित्र जाना साथ सेतो हात्तीको प्रतिमा देखिन्छ। दुई वर्ष अघि बागमती प्रदेशको पुर्वमुखयमन्त्री डोरमणि पौडेलले तत्कालीन सेनवंशीय राजा हेमकर्ण सेनले चढ्ने एकदन्ते सेतो हात्तीको अनावरण र राष्ट्रिय झण्डोत्तलन गरेका थिए। सेतो हात्ती हेमकर्ण सेनले ज्वाइँ पृथ्वीनारायण शाहलाई दाइजो दिएका थिए तर जेठान दिगबन्धन सेनले शाहलाई हात्ती नदिएकाले ज्वाइँ जेठानकोवीच मनोमालिन्य जन्मिएको थियो।

हात्ती त्यहीँ मरेको थियो। हात्ती मरेको स्थानमा मकवानपुरगढी गाउँपालिकाले सेतो हात्तीको प्रतिमा बनाएको छ। साढे चार फिट अग्लो सेतो हात्ती पाटनका कालीगढले निर्माण गरेका हुन्। वीरताको ईतिहास बोकेको मकवानपुर गढीको सही ढंगले संरक्षण हुन नसक्दा त्यहाको दरवार जीर्ण अवस्थामा पुगेको छ। गढी दरवारको भित्ताहरु भत्किएको कारण भग्नावशेष जस्तो देखिन्छ भने झार र लेउले पनि दरवारको सुन्दरतालाई कुरुप देखाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.