एजेन्सी : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित भएकाहरूको सङ्ख्यामा कमी आउन थालेको छ। अधिकारीहरूले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या घटेको देखिएको हो।
मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप २ लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएका छन्। अघिल्लो दिन सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जना नयाँ सङ्क्रमित भएका थिए।
आइतबारको तुलनामा सोमबार दैनिक सङ्क्रमितहरूको सङ्ख्या २७ हजार ४६९ ले घटेको थियो।
भारतमा अहिले कोरानाबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६७ हजार ७५३ जना सङ्क्रमणमुक्त भएका छन्।
भारतमा अहिले एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या बढी देखिएको छ। यसले गर्दा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।