|

काठमाडौं : साहित्य र सिर्जनाले स्वभावतः सबै जिन्दगीमा महत्त्वपूर्ण भूमिका खेलिदिन्छ। जो कोहीलाई पनि साहित्यले मोहित बनाउँछ।

आफूले भोगेका र देखेका कुरा भलै जिन्दगीमा सबैले अक्षरमार्फत सार्वजनिक गर्दैनन्। नलेख्दैमा वा सार्वजनिक नगर्दैमा ऊ साहित्यभन्दा पर हुन्छ भन्ने हुँदैन।

अहिलेकी चर्चित युवा गीतकार प्रभा बर्तौलालाई पनि साहित्यमा रुचि थियो तर आफ्नो सिर्जनाले श्रोतामाझ चिनाउँछ भन्ने सोचेकी पनि थिइनन्।

जिन्दगी अस्वभाविक घटना र परिघटनाको जोड घटाउ हो। उनले सिर्जना गरेका गीतले नै उनलाई एउटा सफल गीतकारका रूपमा चिनाइदियो।

'जिन्दगीमा नसोचेका सपना पूरा हुन्छन्। कतिपय सपना अधुरा बनिदिन्छन्। मलाई मेरो सिर्जना आमदर्शकले रुचाउँछन् भन्ने नै थिएन तर मिहिनेत गरियो भने त्यो सपना पनि विपना बनिदिँदो रहेछ', प्रभा भन्छिन्।

गत वर्ष उनले सिर्जना गरेको गीत थियो :

छुट्नलाई पो रै'छ क्यारे

तिम्रो मेरो यति धेरै माया बसेको

सम्झी सम्झी रुनु छैन पो सानु

खुसीले कुनै पल आँसु खसेको’

यो गीतले उनलाई चर्चामा पुर्‍याइदियो। थानेश्वर गौतमले सङ्गीत दिएको गीतमा गौतम र शान्ति श्रीको स्वर छ। त्यसपछि उनी आफ्नो गीत लेखनीलाई थप सक्रिय बनाएकी छिन्।

गजलमार्फत तानिएर गीत लेखन

चितवनमा हुर्किएकी प्रभालाई सुरुवाती दिनमा कविता लेखनमा रुचि थियो। ‌+२ पढ्दा ताका गजलले नेपाली युवाहरूलाई एक किसिमको तरंग पैदा गरेको थियो। ६० को दशकमा देशभर गजल लेखनमा बाढी आएको थियो। गजलका अध्येताले यो दशकलाई गजलको स्वर्णयुग मान्छन्। उनी पनि ६०को दशकमा नेपाली गजलमा यात्रा गर्न आइपुगिन्। गजलमा युवाको आकर्षण एकातिर छँदै छ। अर्कोतर्फ गेयात्मक हुने भएकाले उनले गजलमा ​सन्तुष्टि भेटिन्। 

'सन्तुष्टि मात्र लेखनको मुख्य ध्येय होइन। श्रोताले के रुचाएका छन् र उनीहरूमाझ आफू भिज्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो', उनले भनिन्।

गजल लेखनमा थोरै ज्ञान थियो। धेरै रहर थियो। त्यसमाथि चितवनका अग्रज स्रष्टासँग उनको परिचय भयो। जसले गजल लेखनमा अगाडि बढ्न मद्दत गर्‍यो।

'मेरो क्षमता र युवाहरूको आकर्षण पनि गजलमा देखिएपछि म यसतर्फ थप आकर्षित भएकी हुँ', उनले भनिन्। उच्च माध्यमिक तह चितवनमा नै सकेपछि उच्च शिक्षा पढ्न काठमाडौं छिरिन्। यो बीचमा उनको सपना पढ्नु थियो। स्नातकोत्तर पूरा गर्दासम्म उनी सिर्जना र गीत लेखनबाट ‍ओझेल परिन्।

उनले स्नातकोत्तर सिध्याउँदै गर्दा गायक थानेश्वर गौतमको स्वरमा गजल बजारमा आयो। 'बिर्सिएर शृङ्गारमा गाजल लगाइनछ्यौ' भन्ने गजल अत्यधिक हिट भयो।

पहिलो गीत नै सफल

पढाइका दिन सकिँदै थिए। त्यही मेसोमा गौतमको 'बिर्सिएर शृङ्गारमा गाजल लगाइनछ्यौ' गजल बजारमा चर्चित बनिरहेको थियो। यो गजल सुनेपछि प्रभालाई लाग्यो, 'यदि मैले लेखेको गजल गौतमको हातमा पुग्यो भने पक्कै न्याय मिल्छ।'

त्यसपछि उनले गौतमलाई भेटिन्। केही गजल गौतमको हातमा थमाइन्। गौतमले एउटा गजलमा स्वर दिए।

छ मसँग सबै छ, छैन तिम्रै अभाव छ

सक्दिनँ भुल्न तिमी, यो मुटुको दबाब छ।

म डुब्छु तिम्रै कल्पनामा लाग्छ तिमी छौ सँगै

चिहाइ हेर मभित्र अझै तिम्रो प्रभाव छ!

उक्त गजलले प्रभालाई सांगीतिक क्षेत्रमा प्रवेश गर्‍यो। उक्त गजल रेडियो नेपालले महत्त्वका साथ प्रस्तुत गरिदियो। देशका विभिन्न एफएमले सिग्नेचर ट्यून बनाए। पहिलो गीतले उनलाई सफलताको यात्रा तय गरिदियो। त्यसपछि उनले छुट्नलाई पो रै'छ क्यारे' ल्याएकी हुन्।

'गीत सर्वव्यापी हुनुपर्छ'

गत वर्ष चर्चामा रहेको यो गीतको भिडियो हेर्ने हो भने प्रेमी-प्रेमिकाबीचको सम्बन्धलाई उजागर गर्छ तर उनले यो गीत आफ्ना हजुरबाको वियोगमा लेखेकी थिइन्।

'हजुरबासँग निकटतालाई जोडिएर लेखिएको गीत हो', उनी प्रष्ट्याउँछिन्। प्रेमको सम्बन्ध केवल प्रेमीप्रेमिकाबीच मात्र होइन‚ साथीसाथीमा पनि हुन्छ। गाउँसँग हुन्छ। आफू हुर्किएको माटोसँग हुन्छ। स्कुलसँग हुन्छ। विश्वविद्यालयसँग हुन्छ। शिक्षक र विद्यार्थीसँग हुन्छ। यतिसम्म कि तपाईं दैनिक जाने चियापसलसँग पनि प्रेम हुन्छ। 'कल्पना गर्नुहोस् हरेक दिन भेटघाट हुने चिया पसल केही दिन अनुपस्थित हुनुभयो भने त्यो चिया पसलको न्यास्रो लाग्छ। किनभने त्यो पसलसँग तपाईंको भावनात्मक सम्बन्ध हुन्छ। भावनात्मक सम्बन्ध प्रेमको उच्चतम अवशेष हो', उनी सुनाउँछिन्, 'तर गीत सर्वव्यापी बनाउनुपर्छ भन्ने लागेर यसलाई युगलप्रेमका रूपमा बजारमा ल्याइएको हो।'

'चर्चाले थपिएको चुनौती'

सपनाले डोर्‍याएको बाटोमा जब सफलता हात पर्छ। त्यो सफलतालाई जोगाउन थप चुनौती स्वभाविक हुने भइहाल्यो। आफूले सिर्जना गरेका गीतलाई दर्शकले मन पराएपछि खुशी नहुने भन्ने नै रहेन तर दुई गीतले आफूलाई थप चुनौती दिएको उनले सुनाइन्।

'मैले लेख्ने गीतलाई न्याय दिन अब चुनौती सुरु भएको छ। हिजो रहरैरहरमा यसतर्फ लागियो। अब रहरले दिएको सफलतालाई जोगाउन थप मिहिनेत गर्नुपर्ने भएको छ', उनी उत्साहित स्वर निकाल्छिन्।

अब सामान्य गीत निकालेर दर्शकको अपेक्षा पूरा हुन सक्दैन भन्ने लागेको छ उनलाई।  कुनै  पनि गीत दर्शकले मन पराउनका लागि शब्दमात्र भएर नहुने कुरामा उनी सचेत छिन्।

'गीतका विभिन्न आयाम पनि सुन्दर हुनुपर्छ। चाहे त्यो संगीत होस् या भिडियो कन्सेप्ट। हरेक कुराको सुन्दर पक्ष एक ठाउँमा मिलन हुन्छ। त्यसपछि मात्र गीत जीवन्त बन्ने हो', उनी सफल गीतमा चाहिने आवश्यक तत्त्वबारे बोल्छिन्, 'सबैभन्दा ठूलो कुरा त गीत सुन्नेलाई यो मेरो गीत हो भन्ने लाग्नुपर्छ।'

'हिम्मतले दिएको सफलता'

समाजले महिलालाई आज पनि दोस्रो दर्जामा राखेको छ तर चेतना र शिक्षाको प्रभावले केही अवसर भने महिलाले आफैँले सिर्जना गरेका छन्। जसमा उनीहरू सफल देखिएका छन्।

परिवारले पनि केही सिप सिकेर आत्मनिर्भर भइदिए हुन्थ्यो भन्ने सोचेको थियो। परिवारले त नर्सिङ पढिदिए हुन्थ्यो भन्ने दबाब नदिएको पनि होइन।

'बाआमाको इच्छा जायज हो तर मैले आफ्नै मनको कुरा सुनेँ', उनले भनिन्, 'मसँग साहित्य लेख्न सक्ने क्षमता छ। मसँग जे छ त्यसैलाई नै अपनाएँ भने मात्र मैले सफलता हात पार्न सक्छु भन्ने लागेको हो।'  उनको इच्छा साहित्यमा रहेका कारणले नर्सिङ पढ्ने बाटो त्यागिदिइन्। सिर्जना आफैँमा अनुत्पादक क्षेत्र मानिदै आएको छ। मान्छेहरूसँग निकटता बढ्छ। निकटतामा प्रश्न आउँछन्।

यी कुराहरूलाई पर राखेर हिँड्नुपर्ने बाध्यता छ। समग्रमा कुरा गर्ने हो भने आफूले आफूलाई विश्वास गर्नुपर्छ। बाटो र नियत सही भयो भने अगाडि बढ्न सकिने उनी बताउँछिन्।

'नियत र क्षमता सही छ भने बाटो सहज त पक्कै छैन तर कठिन पनि छैन', उनी सुनाउँछिन्।

जब उनका गीतहरू रेडियो टेलिभिजनमा आउन थाले, कहिलेकाहीँ  लेखनको पारिश्रमिक पाउन थालिन् बल्ल बाआमा केही मात्रामा विश्वस्त भएको उनले बताइन्।

'कस्तो गीतलाई समाज सुहाउँदो मान्ने?'

‘हिमाल हल्लाउन सक्छु’, ‘फुर्के धागो’, ‘नाचिन्छ, गाइन्छ’, ‘धानको चुली मकैको सुली’, ‘गरौँ रमाइलो’ लगायत थुप्रै लोकप्रिय छन्। करिब १ दर्जन गीत बजारमा ल्याएकी प्रभा भावनाको तरंग अनेक हुने बताउँछिन्। भावनालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा मुख्य हो।

'प्रेम छुट्यो भने वियोगका गीत सुनिन्छ। नयाँ कुनै काम हुँदै छ भने सकारात्मक ऊर्जा दिने गीत सुनिन्छ। पार्टीमा जाँदा डान्सिङ नम्बर गीत सुनिन्छ', उनी भन्छिन्, 'मान्छेले आफ्नो अवस्था अनुसार गीत सुन्छ। ती कतिपय स्लो मोसनका गीत हुन सक्छन्। कहिले डान्सिङ गीत हुन सक्छन्।'

त्यसैले कुन गीतलाई समाज सुहाउँदो भन्नेबारे भने उनी आफैँ पनि अनभिज्ञ रहेको बताउँछिन्। सायद हरेक मान्छेको तत्कालीन अवस्था​ले गीतको क्वालिटी मापन गरिदिने हो कि भन्ने उनको अनुमान छ। 

'संगीत क्षेत्रमा नयाँ पुस्ताका लागि चुनौती'

साहित्य र संगीतमार्फत उनी आफूले धेरै कुरा पाएको सुनाउँछिन्। 'साहित्य र संगीतको क्षेत्रमा कतिपय समय सहनै नसकिने चोट पाएकी छु। चोटले शिक्षा दिएको छ। जसले मेरो सिर्जनालाई थप निखार्ने अवसर दियो', उनले भनिन्।  

संगीतको क्षेत्र एकदमै जटिल क्षेत्र रहेको उनको बुझाइ छ। 'सानो बजारमा आएर आफैँ सिर्जना गरेर, लगानी गरेर गीत निकाल्न नयाँ पुस्ताका लागि थप जटिलता छ', उनले भनिन्, 'पाइरेसी समस्याले थप चुनौती छ। गीत निकाल्दा आफूले लगानी गरेको पैसा उठ्छ या उठ्दैन भन्ने अनुत्तरित छ।'

गीत सधैँ भावनामा बगेर मात्र नहुने पनि उनले बताइन्। संगीत क्षेत्र पूर्ण व्यवसायिक बन्दै गएकाले पनि अब भने केही सहज हुँदै गएको उनी सुनाउँछिन्।

'हिजोका सर्जकले बनाएको बाटोमा आजको पुस्तालाई हिँड्न प्रेरित गरेको छ। हामीले पनि सोही मार्गमा हिँडेर भोलिका सर्जकलाई बाटो देखाउन सके केही सहज होला भन्ने सोचेकी छु', अन्त्यमा उनले भनिन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.