|

दाङ : लुम्बिनीमा हुने राष्ट्रियसभा निर्वाचनका लागि तयारी पूरा भएको छ। लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ।

मतदान केन्द्रहरूमा मंगलबार बुथ निर्माणको काम सकिएको निर्वाचन कार्यालयले जनाएको छ।

लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी ३ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो।

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रीतेन्द्र थापाले बताए।

त्यस्तै उनले मतदानस्थल भित्र आउन खोप कार्ड देखाउनुपर्ने समेत बताए।

उनले भने, ‘कोभिडका लागि छुट्टै मतदान केन्द्र बनाउने भन्ने छैन तर हामीले बुथभित्र आउनेहरूलाई खोप कार्ड हेरेर मात्र भित्र आउन दिन्छौँ। उनीहरूको ज्वरो जाँच हुने र माक्स लगाएको हुनुपर्ने छ। हामीले एउटा हेल्थ डेक्स राखेका हुन्छौँ।’

मतदान गर्ने समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म रहेको भन्दै उनले मतदान सकिएलगत्तै मतगणना शुरु हुने समेत बताए।

प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेका तर्फबाट तीन‚ तीनजनाको उम्मेदवारी परेको छ।

सत्ता गठबन्धनका नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रूपन्देहीका तुलप्रसाद विश्वकर्मा उम्मेदवार छन् भने नेकपा एमालेका तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल र गुल्मीका कृष्णबहादुर सुनारले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.